खाद्य र पेय पदार्थको मूल्यवृद्धि ऋणात्मक, महँगी १.१ प्रतिशतमा सीमित - Chaitanya News
  • 2026-05-02
  • 02:00:56
  • शुक्रबार,बैशाख १८, २०८३
  • खाद्य र पेय पदार्थको मूल्यवृद्धि ऋणात्मक, महँगी १.१ प्रतिशतमा सीमित

    खाद्य र पेय पदार्थको मूल्यवृद्धि ऋणात्मक, महँगी १.१ प्रतिशतमा सीमित

    खाद्य र पेय पदार्थको मूल्यवृद्धि ऋणात्मक, महँगी १.१ प्रतिशतमा सीमित

    काठमाडौं– नेपाल राष्ट्र बैंकले पछिल्लो चार महिनाको तथ्याङ्क सार्वजनिक गरेको छ । जसअनुसार खाद्य र पेय पदार्थको मूल्यवृद्धि ३.३२ प्रतिशतले ऋणात्मक रहेको देखिएको छ।

    राष्ट्र बैंकका अनुसार कात्तिक २०८२ मा मुद्रास्फीति १११ प्रतिशतमा सीमित छ। यस अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ३.३२ प्रतिशतले ऋणात्मक छ।

    गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति भने ३.६९ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ। अघिल्लो वर्ष कात्तिकमा समग्र मुद्रास्फीति ५.६० प्रतिशत थियो। अघिल्लो वर्ष खाद्य र पेय पदार्थको मुद्रास्फीति ९.१० प्रतिशत थियो।

    गैरखाद्य र सेवा समूहको मुद्रास्फीति ३.६५ प्रतिशत थियो। पछिल्लो चार महिनाको औसत मूल्यवृद्धि १.५३ प्रतिशत छ। अघिल्लो वर्ष सोही अवधिको औसत मूल्यवृद्धि ४.५० प्रतिशत थियो।

    तरकारीको मूल्य सबैभन्दा अधिक गिरावट:

    राष्ट्र बैंकका अनुसार तरकारीको मूल्यमा यस वर्ष सबैभन्दा धेरै गिरावट आएको छ। तरकारी उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक १४.४३ प्रतिशतले घटेको छ।

    मरसमलाको ७.८५ प्रतिशत र दाल तथा गेडागुडीको मूल्य ५.३६ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ। घिउ तथा तेल पदार्थको ५.२५ प्रतिशत, गैरमदिराजन्य पेय पदार्थको ३.६१ प्रतिशत र दुग्ध तथा अन्डाको १.९७ प्रतिशतले बढेको तथ्यांक छ।

    गैरखाद्यतर्फ विविध वस्तु तथा सेवा उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक १५.१७ प्रतिशत, शिक्षा ७.५६, कपडाजन्य तथा जुत्ताचप्पल ६.२९ र सुर्तीजन्यको ४.८४ प्रतिशतले बढेको छ।

    बीमा तथा वित्तीय सेवा उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक ०.२३ प्रतिशतले घटेको छ।

    सहरी क्षेत्रमा १.२६ प्रतिशतले मूल्यवृद्धि हुँदा ग्रामीण भेगमा ०.६६ प्रतिशत छ। प्रदेशगत हेर्दा कोशीमा १.८०, मधेश १.७३, बागमती ०.८१, गण्डकी ०.३७, लुम्बिनी १.२७, कर्णाली १.०८ र सुदूरपश्चिममा ०.२६ प्रतिशत छ।

    त्यस्तै काठमाडौंमा १.१६, तराई १.२४, पहाड ०.८८ प्रतिशत र हिमालमा १.०६ प्रतिशतको मूल्यवृद्धि भएको देखिन्छ।