कात्तिक महिनामा मात्रै भित्रियो १ खर्ब ३३ अर्ब रेमिट्यान्स - Chaitanya News
  • 2026-05-27
  • 02:51:03
  • मंगलबार,जेठ १२, २०८३
  • कात्तिक महिनामा मात्रै भित्रियो १ खर्ब ३३ अर्ब रेमिट्यान्स

    कात्तिक महिनामा मात्रै भित्रियो १ खर्ब ३३ अर्ब रेमिट्यान्स

    काठमाडौँ– नेपाल राष्ट्र बैंकले पछिल्लो चार महिनाको तथ्याङ्क सार्वजनिक गरेको छ । जसअनुसार चालु आर्थिक वर्ष २०८२–८३ को कात्तिक महिनामा मात्रै १ खर्ब ३३ अर्ब ८२ करोड रेमिट्यान्स भित्रिएको छ।

    बैंकले सोमबार सार्वजनिक गरेको पछिल्लो चार महिनाको तथ्याङ्कअनुसार कात्तिक महिनामा मात्रै १ खर्ब ३३ अर्ब ८२ करोड रेमिट्यान्स भित्रिएको हो।

    गत आर्थिक वर्षको कात्तिकमा १ खर्ब १४ अर्ब ३१ करोड रेमिट्यान्स भित्रिएको थियो। गत वर्षको कात्तिक महिनाको तुलनामा यो वर्ष रेमिट्यान्स वृद्धि भएको देखिएको छ।

    राष्ट्र बैंकले जारी गरेको चार महिनाको मासिक प्रतिवेदन अनुसार गएको चार महिनामा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २५.३ प्रतिशतले वृद्धि भई ४ अर्ब ८८ करोड पुगेको छ।

    गत वर्ष सोही अवधिमा यस्तो आप्रवाह ८.२ प्रतिशतले बढेको थियो। यसरी हेर्दा चालु आर्थिक वर्षको चार महिना (साउन–कात्तिक) मा ६ खर्ब ८७ अर्ब १३ करोड रुपैयाँ रेमिट्यान्स मुलुक भित्रिएको छ।

    गत आर्थिक वर्षको पहिलो चार महिनाको तुलनामा यस वर्ष भित्रिएको रेमिट्यान्स ३१.४ प्रतिशतले बढी हो। गत वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह ९.४ प्रतिशतले बढेको थियो।

    पछिल्लो चार महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या बढेकाले रेमिट्यान्स आप्रवाह बढेको हो।

    जसअनुसार चार महिनामा १ लाख ४५ हजार ९ सय ७३ जनाले वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिएका थिए। सोही अवधिमा पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या १ लाख २७ हजार ८ सय ३७ रहेको छ।

    गत आर्थिक वर्षको पहिलो चार महिनामा १ लाख ४७ हजार ४ सय ७८ ले वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति र ९४ हजार १ सय ५ जनाले पुनः श्रम स्वीकृति लिएका थिए।