काठमाडौं– नेपाली कांग्रेसले केन्द्रीय समिति बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा गर्ने भएको छ।
मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको समीक्षासँगै जनमतबाट पहिलो दल बनेको कांग्रेस प्रतिपक्षमा बस्नुपर्ने अवस्था आएपछि कांग्रेसले केन्द्रीय समिति बैठक बोलाएको हो।
बैठक आगामी पुस २२ गते शुक्रबार दिउँसो एक बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बोलाइएको कांग्रेस मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिए। बैठकमा पहिलो दल बनेर पनि सरकारबाट बाहिरिनुपर्ने परिस्थिति सिर्जना हुनुको कारणबारे समीक्षा हुनेछ।
गठबन्धन बनाएर निर्वाचनमा होमिएको कांग्रेसले गठबन्धनको निरन्तरता रहने र आफ्नै नेतृत्वमा सरकार बनाउने दावी गर्दै आएको थियो। तर गठबन्धनका साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेसहितका दलसँग नयाँ गठबन्धनसहित सरकारको नेतृत्व गर्न पुगेपछि अहिले कांग्रेसमा नेतृत्वको आलोचना भइरहेको छ।
नेपाली कांग्रेसका नेता कार्यकर्ताले सभापति तथा संसदीय दलको नेताबाट शेरबहादुर देउवाले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने माग गर्दै आएका छन्।
कांग्रेसमा अब संगठन सुदृढीकरणको विषयलाई प्राथमिकतामा राख्नुपर्ने आवाज उठ्न थालेको छ।
![]()