हर्क साम्पाले भने: ‘निर्वाचनपछि नेपालमा किसान, गोठाला र खेतालाको सरकार बन्नेछ’ - Chaitanya News
  • 2026-04-28
  • 19:37:32
  • मंगलबार,बैशाख १५, २०८३
  • हर्क साम्पाले भने: ‘निर्वाचनपछि नेपालमा किसान, गोठाला र खेतालाको सरकार बन्नेछ’

    हर्क साम्पाले भने: ‘निर्वाचनपछि नेपालमा किसान, गोठाला र खेतालाको सरकार बन्नेछ’

    खोटाङ– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ)ले अबको निर्वाचनपछि नेपालमा किसान, गोठाला र खेतालाको सरकार बन्ने बताएका छन् ।

    आज (आइतबार) गृह जिल्ला खोटाङको दिक्तेल बजारमा आयोजना गरिएको आमसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । यस्तै उनले श्रम संस्कृति पार्टीप्रति जनताको पूर्ण समर्थन रहेकाले त्यो सरकारको नेतृत्व आफूले गर्ने जिकिर समेत गरे ।

    धरान उपमहानगरपालिकाका नगर प्रमुखसमेत रहेका अध्यक्ष साम्पाङले स्पष्ट दृष्टिकोण भएका नेताहरूबाट मात्र देश विकास हुने भन्दै आफूहरू देश विकासका खाकासहित अगाडि बढेको बताए। “नेताहरुले पटक–पटक एउटै समस्याको समाधान गर्छु भनेर भोट मागेको देखिन्छ, तर समस्या समाधान हुँदैन। एउटै योजनामा पटक पटक बजेट हालेर पनि योजना बन्दैन। आगामी फागुन–२१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सक्षम नेतालाई भोट गर्न आवश्यक छ”, उनले भने।

    पार्टी अध्यक्ष साम्पाङले अब कुरा भन्दा श्रम गर्नेलाई अवसर दिनुपर्ने र त्यसका लागि एकताबद्ध हुनुपर्ने आवश्यकता औँल्याए ।कार्यक्रममा तत्कालीन जिल्ला विकास समिति खोटाङका पूर्व उपसभापति सीताराम राई, पहिचानवादी नेता मोहन गुरुङलगायत विभिन्न पार्टी परित्याग श्रम संस्कृति पार्टीमा प्रवेश गरेका थिए।

    कार्यक्रममा पार्टीको खोटाङमा प्रताप राईको अध्यक्षतामा ५३ सदस्यीय जिल्ला कार्यसमिति गठन गरिएको जनाकारी दिइएको थियो। समितिको उपाध्यक्षमा उमा चाम्लिङ, सङ्गीता किराती र राजेन्द्र राई, सचिवमा धनी राम नछुङ, सहसचिवमा भविराज राई र मिलन खड्का, कोषाध्यक्षमा कौशिला राई, सहकोषाध्यक्षमा सुवास राई र प्रवक्तामा राजन राई रहेका छन्।