काठमाडौं- मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले उद्योगमैत्री वातावरण नै प्रदेशको समृद्धिको मूल आधार रहेको बताएका छन्।
प्रदेश सरकारले बाराको सिमरामा आयोजना गरेको औद्योगिक सम्मेलनमा बोल्दै मुख्यमन्त्री राउतले उद्योगमैत्री वातावरणबिना प्रदेश वा देशको समृद्धिको परिकल्पनासमेत गर्न नसकिने बताएका हुन्।
प्रदेश सरकारले उद्योगहरुका लागि विशेष प्याकेजको कार्यक्रमहरु ल्याए पनि संघीय कानुनको अभावमा कार्यान्वयन गर्न समस्या भइरहेको बताउँदै उनले जग्गाको स्वामित्व हस्तान्तरण लगायतका प्रक्रिया अविलम्ब सुरू गर्न संघीय सरकारसँग मागसमेत गरे।
सबैभन्दा बढी मानव जनशक्ति विदेश जाने प्रदेशको रूपमा रहेको मधेस प्रदेशका युवाहरुलाई उचित तालिमको व्यवस्था गरि स्वदेशमै रोजगारी उपलब्ध गराउने प्रदेश सरकारको योजनामा सहकार्य गर्न मुख्यमन्त्री राउतले उद्योगीहरुलाई आग्रहसमेत गरे।
उद्योगधन्दाहरुको स्थापनादेखि सञ्चालन सम्ममा उत्पन्न विभिन्न समस्याहरुलाई समाधान गर्न प्रदेश सरकार एकद्वार प्रणालीमार्फत अघि बढेको स्मरण गराउँदै मुख्यमन्त्री राउतले प्रदेश सरकारले सोमबार मात्र वीरगञ्जमा उद्योग विभाग स्थापना गर्ने गरेको निर्णयले ठूलो सहयोग पुर्याउने विश्वास व्यक्त गरे।
सम्मेलनमा अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले सम्मेलनबाट आउने निष्कर्षले प्रदेश सरकारलाई दिशा निर्देश गर्ने उल्लेख गरेका छन्। औद्योगिक विकासका लागि प्रदेश सरकारले अवलम्बन गरेको नीतिहरुबारे जानकारी गराउँदै उनले प्रदेशको आर्थिक समृद्धि र विकासका लागि निजि क्षेत्रको योगदान महत्वपूर्ण रहेको धारणा राखे।
सम्मेलनमा उद्योग, पर्यटन तथा वनमन्त्री सत्रुधन महतोले औद्योगिक सम्मेलनले प्रदेशमा उद्योग स्थापनाको वातावरण निर्माण गर्नुका साथै वर्तमान आवश्यकता र कानूनी जटिलता जस्ता समस्याहरुको समाधानको बाटो पहिल्याउन महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरे।
सम्मेलनको उद्घाटन सत्रमा नेपालका लागि वेलायती राजदूत निकोला पोलिट, नेपाल उद्योग परिसंघका निवर्तमान अध्यक्ष सतिश मोर, उपाध्यक्ष राजेश अग्रवाल, मधेस प्रदेश संयोजक नरेश दास सहितकाले आ–आफ्नो मन्तव्य राखेका थिए।