काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवा नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को शपथग्रहण समारोहमा नजाने भएका छन्। सोमबार प्रचण्डलाई प्रधानमन्त्री बनेकोमा बधाई दिँदै देउवाले आफू शपथग्रहणमा आउन नसक्ने जानकारी गराए।
प्रचण्डले भने शपथग्रहणमा आइदिन आग्रह गरे पनि देउवाले अस्वीकार गरेको प्रचण्डको सचिवालयले जनाएको छ।
देउवालाई उनीनिकट कतिपय नेताहरूले पनि शपथग्रहणमा गएर राजनीतिक संस्कार देखाउन आग्रह गरे पनि देउवाले मानेको छैनन्। हिजो कांग्रेस नेतृत्वको गठबन्धनको बैठक छाडेर हिँडेका प्रचण्डले एमालेसँग गठबन्धन गरेको भन्दै देउवा रुष्ट छन्। केन्द्रदेखि प्रदेशसम्मका करिब सबै सरकार गुमाएको कांग्रेस स्तब्ध छ।
शपथ ग्रहण कार्यक्रम राष्ट्रपति भवन शीतल निवासमा केही समयपछि हुँदै छ। जहाँ एमाले अध्यक्ष ओलीसहित विभिन्न दलका नेताहरू सहभागी हुँदै छन्। प्रधानमन्त्री प्रचण्डसँगै केही मन्त्रीले पनि शपथ लिँदैछन्।