मधेश प्रदेशका मुख्यमन्त्री यादवले गरे शपथ ग्रहण - Chaitanya News
  • 2026-05-07
  • 23:52:26
  • बिहिबार,बैशाख २४, २०८३
  • मधेश प्रदेशका मुख्यमन्त्री यादवले गरे शपथ ग्रहण

    मधेश प्रदेशका मुख्यमन्त्री यादवले गरे शपथ ग्रहण

    नकपुरधाम– मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

    आज (आइतबार) उनलाई प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले शपथ खुवाएका हुन्। उनी यही मंसिर २४ गते विश्वासको मत लिने तयारीमा छन्।

    कांग्रेस संसदीय दलका नेता यादव यही मंसिर १९ गते ७ दलका ७७ प्रदेश सभा सदस्यहरुको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए।

    यादवलाई कांग्रेस, जसपा नेपाल, जनमत, तत्कालीन नेकपा माओवादी केन्द्र, लोसपा र तत्कालीन एकीकृत समाजवादीका सांसदहरुले समर्थन गरेका छन्।

    संविधानको धारा १६८ को उपधारा ३ बमोजिम ठूलो दलको हैसियतमा मुख्यमन्त्री बनेका नेकपा एमाले संसदीय दलका नेता सरोज कुमार यादवले मंसिर १७ गते राजीनामा दिएपछि मधेश सरकारको नेतृत्व कांग्रेस दलका नेता यादवको जिम्मेवारीमा आएको हो।

    गत कार्तिक २३ गते राति संविधानको धारा १६८ को ३ बमोजिम एमालेका यादव मुख्यमन्त्री नियुक्त हुँदा सातदलीय गठबन्धनले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। सर्वोच्चले २४ घण्टाभित्र विश्वासको मत लिन र विश्वासको मत पाउन नसके संविधानको धारा १६८ को उपधारा २ बमोजिम नै अर्को सरकार गठन गर्न आदेश दिएको थियो।

    उनले प्रदेश सभामा सम्बोधन गर्दै राजीनामा घोषणा गरेपछि कांग्रेस दलका नेता यादवलाई गठबन्धनका दलहरुले मुख्यमन्त्रीको रुपमा चयन गरेका थिए। उनले आजै सानो आकारको मन्त्रीमण्डल पनि गठन गर्दैछन्।