काठमाडौं– नेपालका लागि पूर्व भारतीय राजदूत रञ्जित रेले नयाँ सत्ता गठबन्धन बन्नु नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको जीत भएको टिप्पणी गरेका छन्। बीबीसी हिन्दीसँग कुराकानी गर्दै रेले भने, ‘यसमा सबैभन्दा ठुलो जित केपी ओलीको हो। उहाँ प्रतिपक्षमा हुनुहुन्थ्यो, अहिले एक्कासि सत्ताको केन्द्रमा पुग्नुभएको छ। ओलीले आफ्नो राष्ट्रपति, सभामुख बनाउने र बाँकी राजनीतिक नियुक्ति पनि उहाँकै हातमा हुनेछ। राजदूत नियुक्तिमा पनि ओलीकै चल्नेछ।’
अर्कोतर्फ नेपाली कांग्रेस जितेर पनि हारेको उनको भनाई छ। ‘अब नेपाली कांग्रेससँग केही छैन। कुनै प्रदेशमा पनि कांग्रेसको सरकार बन्दैन। प्रचण्ड सहमत नभएको भए देउवाले उनलाई प्रधानमन्त्री बन्नुपर्थ्यो। नेपाली कांग्रेसका धेरै सांसद थिए र प्रचण्डलाई प्रधानमन्त्री बनाएको भए पनि उनको मनमानी चल्ने थिएन।’
रे भन्छन्, ‘देउवा डेढ वर्ष प्रचण्डको समर्थनबाटै प्रधानमन्त्री भएका थिए। शेरबहादुर देउवा पाँच पटक प्रधानमन्त्री भइसकेका छन्। यस्तो अवस्थामा उनले जिद्दी हुनुको साटो समझदारी देखाउनुपर्थ्यो।’