काठमाडौं– गृहमन्त्री बालकृष्ण खाँणले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नयाँ सरकार बन्ने प्रक्रियालाई आफूले सहजतापूर्वक लिएको प्रतिक्रिया दिएका छन्। सोमबार मन्त्रालयमा आयोजित आफ्नो बिदाइ भेटमा बोल्दै काँग्रेस नेता समेत रहेका गृहमन्त्री खाँणले नयाँ सरकार गठन प्रक्रियालाई देशले पनि सहजतापूर्वक लिनुपर्ने बताए। उनले नवनिर्वाचित प्रधानमन्त्री दाहाललाई आफूले फोनमार्फत् बधाई तथा शुभकामना दिएको उल्लेख गर्दै दाहाल नेतृत्वको सरकारलाई सबैले सहयोग गर्नुपर्ने पनि स्पष्ट पारे।
मन्त्री खाँणले सरकार भनेको सरकारकै निरन्तरता भएकाले नयाँ सरकारलाई पनि सहयोग गर्न कर्मचारीहरुलाई पनि सचेत गराए। उनले भने, ‘आम निर्वाचनपछि सरकार निर्माण गर्ने प्रक्रियामा केही परिवर्तनहरु पनि भएका छ। गठबन्धनमा परिवर्तन पनि भएको छ। यसलाई यसलाई देशले सहजतापूर्वक नै लिनुपर्दछ। तर सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहालजीलाई मैले हिजो फोन गरेर बधाई तथा शुभकामना पनि दिएको छु। र, नयाँ सरकारलाई हामी सबैले मद्दत गर्नु पर्दछ।
अव हाम्रो संवैधानिक व्यवस्थाले, दलीय प्रबन्धले राजनीतिक दलका नेता र कार्यकर्ताहरु दलमा आवद्ध रहनु त स्वभाविक हो। तथापि सरकार भनेको सरकारकै निरन्तरता हो। हामीले हिजोको सरकारको निरन्तरतालाई नै अगाडि बढाएको हो। अव आउने नयाँ सरकारले पनि त्यसैलाई निरन्तरता दिएर जान्छ। त्यसकारणले सरकारलाई सहयोग गर्नु हामी सबैको साझा दायित्व हो। र, तपाईहरुलाई पनि आग्रह गर्न चाहन्छु–सबैले सहयोग नै गर्नुहोला। र, खास गरेर गृह मन्त्रालयमा काम गर्दाखेरी सीमित स्रोत, साधनलाई कसरी विस्तार गर्ने? त्यसलाई कसरी जुटाउने यो सरकारको दायित्व नै हो।’
गृहमन्त्री खाँणले राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्री कार्यालय मातहत नै रहेपनि फरक नपर्ने अनुभूति समेत सुनाए। प्रधानमन्त्री कार्यालयमा रहेको सो विभागलाई गृह मन्त्रालय मातहत ल्याउन अझै पनि दवाव परिरहेका बेला उनले भने जहाँ रहेपनि फरक नपर्ने प्रतिक्रिया दिए।
गृहमन्त्री खाँणले सो विभागले आवश्यक परेका सबै सूचनाहरु दिएकाले पनि आफूले जता भएपनि भिन्नता महसुस गर्नु नपरेको उल्लेख गरे। गृहमन्त्री खाँणले गृह मन्त्रालयमा स्रोत र साधनको भने कमी रहेको औंल्याउँदै त्यसको बन्दोबस्त गर्न आवश्यक रहेको पनि पटकपटक दोहोर्याए। उनले मध्यरातमा आफूले मन्त्रालयमा बसेर काम गरेको र त्यसमा सबै कर्मचारीहरुले सहयोग गरेको भन्दै धन्यवाद समेत व्यक्त गरे।
गृहमन्त्री खाँणले १ वर्ष ६ महिना १२ दिन गृह मन्त्रालयको नेतृत्व गरेका थिए। त्यसलाई सफलतापूर्वक संचालन गरेको उनको दावी थियो। खासगरी स्थानीय तहको निर्वाचन र आम निर्वाचन सफलतापूर्वक सम्पन्न गराएकोमा आफू खुशी रहेको गृहमन्त्री खाँणले बताए।