राष्ट्रिय सभा चुनावका लागि निर्वाचन कार्यक्रम स्वीकृत, पुस २३ गते उम्मेदवारी दर्ता हुने - Chaitanya News
  • 2026-04-28
  • 22:35:28
  • मंगलबार,बैशाख १५, २०८३
  • राष्ट्रिय सभा चुनावका लागि निर्वाचन कार्यक्रम स्वीकृत, पुस २३ गते उम्मेदवारी दर्ता हुने

    राष्ट्रिय सभा चुनावका लागि निर्वाचन कार्यक्रम स्वीकृत, पुस २३ गते उम्मेदवारी दर्ता हुने

    काठमाडौँ– राष्ट्रिय सभा निर्वाचनका लागि निर्वाचन आयोगले निर्वाचन कार्यक्रम स्वीकृत गरेको छ।

    आज (बुधवार) आयोगले स्वीकृत गरेको कार्यक्रम अनुसार पुस १९ गते बिहान १० बजेदेखि ११ बजेसम्म मतदाता नामावली प्रकाशन हुनेछ।

    मतदाता नामावली उपरको दाबी विरोध तथा निवेदनउजुरी माथि छानबिन गरी पुस २२ गते ३ बजेदेखि ४ बजेसम्म अन्तिम मतदाता नामावली प्रकाशन हुनेछ।

    पुस २३ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने कार्यक्रम छ। पुस २४ गते बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने, पुस २७ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने र दिउँसो १ बजेदेखि २ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम छ।

    पुस २८ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिन्ह सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयबाट प्रदान गरिने छ।

    माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुने गरी निर्वाचन कार्यक्रम स्वीकृत भएको छ।

    फागुन २० गते राष्ट्रिय सभाका १९ जना सदस्यको कार्यकाल सकिँदै छ। कार्यकाल सकिन लागेकामध्ये बामदेव गौतम राष्ट्रपतिबाट मनोनीत हुन्। बाँकी १८ पदका लागि निर्वाचन हुन लागेको हो।

    कोशी प्रदेशबाट तीन, मधेशबाट चार, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमबाट दुई–दुई, लुम्बिनीबाट तीन सदस्य निर्वाचित हुने छन्।