काठमाडौँ– मन्त्रिपरिषद् बैठकका २७ निर्णयहरू सार्वजनिक भएका छन् । हिजो (सोमबार) बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू आज (मंगलबार) सार्वजनिक गरिएको हो।
सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनका क्रममा सार्वजनिक गरिएका २७ वटा विभिन्न निर्णयहरूमा महत्त्वपूर्ण नियुक्ति, आर्थिक नियमन, वैदेशिक सहायता र पूर्वाधार निर्माणसँग सम्बन्धित विषयहरू समेटिएका छन्।
सरकारले वित्तीय सुशासन कायम गर्न नगद कारोबारमा कडाइ गर्ने नीति लिएको छ। मन्त्रिपरिषद्को निर्णय अनुसार आगामी माघ १ गतेदेखि लागू हुने गरी एकपटकमा पाँच लाख रुपैयाँ वा सोभन्दा बढी मूल्यको वस्तु तथा सेवा खरिद–बिक्री गर्दा अनिवार्य रूपमा बैङ्किङ प्रणाली वा वित्तीय संस्थामार्फत मात्र कारोबार गर्नुपर्ने गरी सीमा निर्धारण गरिएको सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चार प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए।
बैठकले प्रेस काउन्सिल नेपालको अध्यक्ष पदमा डा.कुमार शर्मा आचार्य (दाङ) लाई नियुक्त गरेको छ भने लुम्बिनी विकास कोषको सदस्य सचिवमा ई। दीपक श्रेष्ठ (गोरखा) लाई मनोनयन गरिएको छ।
त्यस्तै, विश्वविद्यालय अनुदान आयोगको रिक्त सचिव पदमा प्रा। ज्ञान बहादुर थापा र कर्मचारी सञ्चय कोषको सञ्चालक समिति अध्यक्षमा अर्थ मन्त्रालयका राजस्व सचिव भूपाल बराललाई नियुक्त गर्ने निर्णय भएको छ। प्रशासन सेवातर्फ सहसचिव बैकुण्ठ प्रसाद अर्याललाई विशिष्ट श्रेणी (सचिव)मा बढुवा गरी सुदूरपश्चिम प्रदेशको प्रमुख सचिवमा पदस्थापन गरिएको छ।
मन्त्रिपरिषद्ले बाढी र पहिरोबाट ठूलो जनधनको क्षति व्यहोरेको श्रीलङ्का सरकारलाई मानवीय सहायतास्वरूप २ लाख अमेरिकी डलर उपलब्ध गराउने निर्णय गरेको छ।