काठमाडौँ– लुम्बिनी प्रदेश सभाले पूर्णता पाएको छ। भदौ महिनामा एमालेबाट समानुपातिक सांसद बनेकी सरिता पुनको मृत्यु भएपछि खाली रहेको स्थानमा सोमबार रेवती गुरुङको नियुक्ति भएसँगै प्रदेश सभाले पूर्णता पाएको हो।
लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्तीमगरसमक्ष गुरुङले शपथ लिइन्। निर्वाचन आयोगको मंसिर ११ को निर्णयअनुसार रिक्त भएको स्थानमा गुरुङलाई नयाँ सदस्य घोषणा गरिएको हो। रुकुम पूर्व, पुथा उत्तरगंगा गाउँपालिका–१०, तकसेराकी ३२ वर्षीया सरिता पुनको गत भदौ १४ गते उपचारका क्रममा निधन भएको थियो ।
पुनको निधनपछि रिक्त भएको समानुपातिक सूचीमा महिलाअन्तर्गत आदिवासी जनजाति कोटाबाट प्रतिनिधित्व गर्ने क्रमअनुसार रुपन्देहीको देवदह नगरपालिका–५ निवासी गुरुङलाई मनोनयन गरिएको हो। गुरुङ एमालेको बन्द सूचीमा क्रम नम्बर १३ मा रहेकी र प्राथमिकता सूचीको पहिलो स्थानमा परेकाले अवसर पाएकी हुन्। प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ३० ९२० तथा निर्वाचन नियमावली, २०७४ को नियम ४७ ९५० बमोजिम रिक्त स्थानमा सूचीकृत क्रमअनुसारका उम्मेदवार नियुक्त हुने व्यवस्था छ।
एमाले रुपन्देहीमा तीन कार्यकाल जिल्ला सदस्य बनेकी गुरुङ यसअघि प्रदेश कमिटीमा रहेकी थिइन्। दुई छोरा र श्रीमानसहित देवदहमा बस्ने उनी अध्ययनमा साक्षर मात्रै रहे पनि लामो समयदेखि राजनीतिमा क्रियाशील थिइन्। ०७९ सालमै पहिलो सूचिमा सांसद बन्ने आशा राखेकी उनले नपाएपछि असन्तुष्ट रहेकी थिइन्।
चैतमा जनमतबाट राजीनामा दिएर खाली भएको स्थानमा केही समयअघि निलम पासवान नियुक्त भएकी थिइन्। पासवान र गुरुङ दुई बाँकी दुई वर्षे कार्यकालका लागि सांसद बनेका हुन्।