धनगढी– सुदूरपश्चिम प्रदेशको धनगढीमा आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन र प्रदेशको शान्ति सुरक्षालाई केन्द्रमा राखेर उच्चस्तरीय सुरक्षा गोष्ठी सुरु भएको छ।
२१ फागुनका लागि तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षा तयारी र रणनीतिका विषयमा केन्द्रित यो गोष्ठीमा संघीय सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालसहित प्रमुख सुरक्षा अंगका प्रमुखहरूको उपस्थिति रहेको छ।
गृह मन्त्रालय र सुदूरपश्चिम प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको संयुक्त आयोजनामा मंगलबार जारी गोष्ठीमा प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले निर्वाचनका लागि आवश्यक वातावरण निर्माणमा प्रदेश सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताए।
शाहले संघीय सरकारसँग सहकार्य गर्दै अघि बढ्न प्रदेश सरकार सधैं तत्पर रहेको बताए। ‘मुलुकलाई चुनावी माहोलमा लैजाने क्रममा जनताको इच्छा, आकांक्षा र विश्वासलाई केन्द्रमा राख्नुपर्छ संघीय सरकारले प्रदेशलाई अधिकार प्रत्यायोजन गर्दा तीनै तहबीचको समन्वय र सहकार्य अझ प्रभावकारी हुन्छ,’ उनले भने।
मुख्यमन्त्री शाहले नेपाल प्रहरीलाई साधनस्रोत सम्पन्न र उच्च मनोबलका साथ काम गर्ने वातावरण बनाउनु प्रदेश सरकारको प्राथमिकता रहेको उल्लेख गरे ।
सुरक्षा निकायलाई अझ सक्षम र प्रभावकारी बनाउन सरकार कटिबद्ध रहेको उनको भनाइ थियो। भदौ २३ र २४ गतेका आन्दोलनका विषयमा संकेत गर्दै उनले भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न प्रदेश सरकारले कुनै कसर बाँकी नराख्ने स्पष्ट पारे।
सुरक्षा गोष्ठीका लागि गृहमन्त्री ओमप्रकाश अर्याल सोमबार नै धनगढी पुगेका थिए। उनीसँगै गृहसचिव रामेश्वर दंगाल, प्रहरी महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, नेपाली सेनाका बलाधिकृत रथी प्रदीपजंग केसी र राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक टेकेन्द्र कार्की पनि गोष्ठीमा सहभागी छन्।
आज बिहान ९ बजेदेखि सुरु भएको गोष्ठीको उद्घाटन सत्रमा सुदूरपश्चिमका आन्तरिक मामिलामन्त्री हिरा सार्की, मुख्यमन्त्री शाह र गृहमन्त्री अर्यालले मन्तव्य राखेका थिए। गृह मन्त्रालयका सहसचिवले गोष्ठीको उद्देश्यमाथि प्रकाश पारेका थिए।
बन्द सत्रमा जिल्लागत र प्रदेशगत सुरक्षा चुनौती, अपराध नियन्त्रण, र सीमा सुरक्षाको वस्तुगत अवस्थाबारे गम्भीर छलफल हुने बताइएको छ। गृह मन्त्रालयको सुरक्षा तथा समन्वय महाशाखा प्रमुखले विशेष प्रस्तुति राख्ने यो सत्रमा मुख्यतः फागुन २१ गते हुने निर्वाचनको सुरक्षा रणनीतिका विषयमा गहन विमर्श हुनेछ।
कार्यक्रमको समापन गृहसचिव रामेश्वर दंगालले सुरक्षा निकायका प्रमुखहरू, प्रदेश प्रमुख सचिव र मन्त्रीहरूको मन्तव्यपछि गर्ने कार्यतालिका रहेको छ।