सेयर बजारमा जलविद्युत् उपसमूहको हिस्सा १० प्रतिशत माथि नाघ्यो - Chaitanya News
  • 2026-04-25
  • 21:37:14
  • शनिबार,बैशाख १२, २०८३
  • सेयर बजारमा जलविद्युत् उपसमूहको हिस्सा १० प्रतिशत माथि नाघ्यो

    सेयर बजारमा जलविद्युत् उपसमूहको हिस्सा १० प्रतिशत माथि नाघ्यो

    काठमाडौँ— बजार पुँजीकरणको हिसाबले सेयर बजारमा जलविद्युत् उपसमूहको हिस्सा १० प्रतिशतभन्दा माथि पुगेको छ। विगत लामो समय देखि बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीहरुको बाहुल्यता रहँदै आएकोमा दोस्रो बजारमा विस्तारै जलविद्युत् लगायत उपसमूहको हिस्सा बढ्दै गएको छ।

    जलविद्युत् लगायत उपसमूहको हिस्सा बढ्दै जाँदा बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीको हिस्सा घट्दै गएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार गत कात्तिकसम्म सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरूको धितोपत्र बजार पुँजीकरणको हिस्सा ६८.१ प्रतिशत रहेको छ। त्यसैगरी, जलविद्युत् कम्पनीहरूको हिस्सा १०.३ प्रतिशत, लगानी कम्पनीहरुको ६.४, उत्पादन तथा प्रशोधन कम्पनीहरू हिस्सा ४.४ प्रतिशत छ। होटेलको हिस्सा १.७ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.४ प्रतिशत तथा अन्य समूहका कम्पनीको हिस्सा ८.७ प्रतिशत रहेको नेप्सेको तथ्यांक छ।

    गत कात्तिकसम्म नेप्सेमा कुल २ सय ४५ वटा कम्पनी सूचीकृत छन्। सूचीकृत कम्पनीमध्ये १ सय ४८ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन्। ययस्तै, ६० जलविद्युत् कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, ६ लगानी कम्पनी, ५ होटल, ४ व्यापारिक संस्था र ३ अन्य समूहका रहेका छन्। ०७८ कात्तिकमा सूचीकृत कम्पनीको संख्या २ सय २२ रहेको थियो। यस्तै, नेप्सेमा यो आर्थिक वर्षको साउनदेखि कात्तिक मसान्तसम्म सूचीकृत ६ अर्ब ८३ करोड सेयरको चुक्ता मूल्य ६ खर्ब ७३ अर्ब ३९ करोड रुपैयाँ छ।