काठमाडौं– कांग्रेसका महामन्त्री गगन थापाले आफू अपमानित भएर पोखरा आएको प्रतिक्रिया दिएका छन्। आइतबार बसेको पार्टीको पदाधीकारी बैठक तथा सत्ता गठबन्धनको बैठकमा सहभागी नभइ पोखरा पुगेका थापाले सभापतिको फोनको प्रतिक्षा गर्दासमेत उनले नबोलाएको गुनासो पोखे।
पोखरामा जारी नेपाल लिटरेचर फेस्टिबलमा ‘राजनीति समाजको ऐना’ बहस कार्यक्रममा उनले भने, ‘म एकप्रकारले भन्ने हो भने अपमानित भएर आएको हुँ। म पार्टीको महामन्त्री र सांसद पनि हुँ। पार्टी सभापतिको फोन कतिबेला आउँछ भनेर प्रतिक्षा गरेर बसें। तर एक कल फोन पनि आएन। बिहान सभापतिको घरमा पदाधीकारी बैठक राखिएको थियो। नबोलाई जान कुरा आएन। महामन्त्रीको हैसियतले गठबन्धनको बैठकमा पनि जानुपर्ने हो। प्रधानमन्त्री ज्यूले बोलाउनु नै भएन।’
पार्टी तथा गठबन्धनको महत्वपूर्ण बैठकमा सभापतिले दुई जना महामन्त्रीलाई निषेध गरेको भन्दै नेता तथा कार्यकर्ता देउवासँग असन्तुष्ट भएका छन्। कांग्रेसका पूर्वसहमामन्त्री तथा केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले देउवाकै दम्भ र एकलौटीका कारण कांग्रेसको हातबाट सत्ता फुत्किएको आरोप लगाएका छन्।