पुसमा महाधिवेशन गर्न शेरबहादुर देउवाले गरे संस्थापनलाई ‘कन्भिन्स’ - Chaitanya News
  • 2026-04-29
  • 00:08:27
  • मंगलबार,बैशाख १५, २०८३
  • पुसमा महाधिवेशन गर्न शेरबहादुर देउवाले गरे संस्थापनलाई ‘कन्भिन्स’

    पुसमा महाधिवेशन गर्न शेरबहादुर देउवाले गरे संस्थापनलाई ‘कन्भिन्स’

    काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगको छलफलपछि संस्थापन समूहका नेताहरू पुस मसान्तमा नियमित महाधिवेशन गर्ने प्रस्ताव स्वीकार गर्न सहमत भएका छन्।

    बिहान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पुस मसान्तमा नियमित महाधिवेशन गर्ने प्रस्ताव स्विकार्न आग्रह गर्दा सभापति देउवासँग छलफल गर्ने बताएका संस्थापन पक्षीय नेताहरू सभापति देउवासँगको छलफल पछि स्विकार्न सहमत भएका हुन्।

    देउवालाई भेट्न पूर्वउपसभापतिद्वय विमलेन्द्र निधि र विजयकुमार गच्छदार, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला तथा नेताहरू बालकृष्ण खाण, रणबहादुर रावल, सिता गुरुङ, कुन्दन काफ्ले, गुरु बरालसहित पुगेका थिए।

    देउवाले पुसमा नियमित महाधिवेशन हुने भएमा विशेष महाधिवेशन नहुने बताएपछि आफूहरू पुसमा महाधिवेशन गर्न सहमत भएको पूर्वउपसभापति निधिले बताए। ‘सभापतिज्यूले नै पुसमा महाधिवेशन हुने भयो भने विशेष महाधिवेशन हुँदैन भन्नुभयो। त्यसपछि उहाँको विश्वासमा हामी पुसमा महाधिवेशन गर्न सहमत भयौँ,’ निधिले रातोपाटीसँग भने।

    नियमित महाधिवेशनको कार्यतालिका आएपछि विशेष महाधिवेशनको औचित्य सकिने निधिले बताए।

    देउवाले कार्यवाहक सभापति खड्काले ल्याउने प्रस्ताव सबैको सहमतिको भएकाले मानेर जान नेताहरूलाई आग्रह गरेका थिए। संस्थापन समूह अब आउँदो पुसमा नियमित महाधिवेशन गर्ने कार्यतालिकामा सहमत भएको छ।

    निधि, सिटौलासहितका नेताहरू निर्वाचनपछि महाधिवेशन गर्नुपर्ने अडानमा थिए।