काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टीबीच एकता घोषणा भएको छ।
आज (आइतबार) काठमाडौँमा आयोजित एकता घोषणा सभामा दुई दलका नेताहरूले एकीकरणसम्बन्धी सहमतिमा हस्ताक्षर गरेका छन्।
रास्वपाका तर्फबाट कार्यवाहक सभापति डोलप्रसाद अर्याल र डा. स्वर्णिम वाग्लेले हस्ताक्षर गरेका छन् भने विवेकशील साझाकी अध्यक्ष समीक्षा बाँस्कोटा र उपाध्यक्ष प्रकाशचन्द्र परियारबीच हस्ताक्षर भएको हो। उनीहरूबीच विभिन्न पाँच वटा बुँदामा सहमति भएको छ।
जस अनुसार, वैकल्पिक राजनीतिको प्रवर्द्धनमा स्व। उज्ज्वल थापा एवं ‘विवेकशील अभियान’को योगदानलाई दस्तावेजीकरण गरी मान्यता दिने सहमति भएको छ।
महाधिवेशनसम्मका लागि बनाइएको ‘विशेष संयन्त्र संघीय नेतृत्व मञ्च’ मा विवेकशील साझा पार्टीबाट एकीकरणको प्रक्रियाबाट आउने नेताहरूलाई आपसी समझदारीमा मनोनयन गर्ने सहमति भएको छ। त्यस्तै, मञ्चका सदस्यहरूको वरियता केन्द्रीय समितिको सदस्य सरह हुने सहमतिमा उल्लेख छ।
विवेकशील साझा पार्टीका सदस्य र सल्लाहकारहरूलाई केन्द्रीय, प्रादेशिक र स्थानीय तहगत संरचनामा समुचित समायोजन गरी जिम्मेवारी तोक्दा योग्यता, समावेशिताको सिद्धान्त र सार्वजनिक छविलाई आधार मान्ने पनि सहमतिमा बताइएको छ।
एकीकरण पश्चात् दलको नाम ‘राष्ट्रिय स्वतन्त्र पार्टी’, दलको झण्डा साबिककै निलो पृष्ठभूमिको मध्य भागमा सेतो रङ्गको गोलाकार बीचमा निलो रंगको घण्टीको आकृति र दलको चिन्ह ‘घण्टी’ रहने बताइएको छ।
एकीकरण सम्बन्धी निर्वाचन आयोग सम्बद्ध कानूनी प्रक्रिया पूरा गर्न राष्ट्रिय स्वतन्त्र पार्टी र विवेकशील साझा पार्टीबाट आवश्यक दस्तावेजहरू तयार गर्दै पार्टीका नाममा रहेका चल–अचल सम्पत्तिको व्यवस्थापन आपसी समझदारीमा शीघ्र सम्पन्न गर्ने सहमति पनि भएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीको सिद्धान्त, नेतृत्व र चुनाव चिन्ह ‘घण्टी’ मा गोलबद्ध भई लोकतान्त्रिक सुशासन र समुन्नतिका मुद्दा अघि बढाउन अन्य सबै सुसंस्कृत एवं परिवर्तनकामी वैकल्पिक राजनीतिक शक्ति, समूह र व्यक्तिहरूलाई आव्हान गने पनि सहमति भएको छ।
![]()