ओलीले भने: ‘प्रतिस्पर्धा गरौँ तर एकले अर्कालाई नहोच्याऊँ, अपमान नगरौँ’ - Chaitanya News
  • 2026-05-08
  • 01:03:37
  • बिहिबार,बैशाख २४, २०८३
  • ओलीले भने: ‘प्रतिस्पर्धा गरौँ तर एकले अर्कालाई नहोच्याऊँ, अपमान नगरौँ’

    ओलीले भने: ‘प्रतिस्पर्धा गरौँ तर एकले अर्कालाई नहोच्याऊँ, अपमान नगरौँ’

    काठमाडौँ– पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आसन्न ११ औँ महाधिवेशनमा मतदान हुने बताएका छन्।

    आज (आइतबार) पार्टी केन्द्रीय कार्यालय च्यासलमा महाधिवेशनको लोगो अनावरण गर्दै उनले यस्तो बताएका हुन् । यस्तै उनले नेतृत्व चयनमा प्रतिस्पर्धा हुने तर स्वस्थ प्रतिस्पर्धा गर्न आग्रह समेत गरेका छन्।

    ‘महाधिवेशनमा मतदान हुन्छ। यो मतदान गर्न नदिएर, मतदान नै नभएर ल यसरी सर्वसम्मति गर्नुपर्छ भन्ने नाउँमा सेन्टिमेन्टल कुरा गरेर, सेन्टिमेन्टलको नाममा कसैलाई आउनै नदिएर अगाडि बढ्ने, आउनै नदिएर रोक्ने खालको काम हुन्छ कि भन्ने यस्तो खालको कुरा हुँदै होइन,’ उनले भने, ‘त्यस्तो रोक्नेसोक्ने कुनै काम हुँदैन। प्रतिस्पर्धा, खुला हुन्छ। प्रतिस्पर्धा गर्न चाहनेले राम्रोसँग गर्न पाउँछ।’

    अध्यक्षका हैसियतले आफूले सहमतिमा जोड दिने उनले बताए।

    ‘जसले छोड्नुपर्छ सहमतिका साथै छाडौँ। जो बस्नुपर्छ सहमतिका साथ बसौँ। सहमतिका साथ जाऔँ। भन्दै गर्लान्, एमालेमा डेमोक्रेसी छैन। चुनावै लडेनन। कसैलाई चुनावै लड्न दिइएन, भन्दै गर्लान्,’ उनले भने।

    उनले अगाडि भने, ‘मेरो आग्रह छ( एकताबद्ध भएर जाऔँ। एकार्कामा टिप्पणी, आलोचना गर्ने, खुइल्याउने, होच्याउने, अपमान गर्ने काम किन गर्ने त्यस्तो, त्यस्तो नगरौँ। परस्परमा सम्मानपूर्ण ढंगले चल्ने संस्कृति विकास गरौँ। त्यो स्थापना गरौँ। अरूलाई नहोच्याऊँ, अस्वस्थ खालको प्रतिस्पर्धा नहोस्। नगरौँ। नेकपा एमाले त्यसै गरी अगाडि बढ्छ, प्रतिस्पर्धालाई नराम्रो मान्दैनौँ फेरि।’