मन्त्री पुनले भने:‘त्रिवि राज्याभिषेक उद्यान’लाई प्राकृतिक रूपमै सौन्दर्यकरण गरिने छ’ - Chaitanya News
  • 2026-04-29
  • 21:17:14
  • बुधबार,बैशाख १६, २०८३
  • मन्त्री पुनले भने:‘त्रिवि राज्याभिषेक उद्यान’लाई प्राकृतिक रूपमै सौन्दर्यकरण गरिने छ’

    मन्त्री पुनले भने:‘त्रिवि राज्याभिषेक उद्यान’लाई प्राकृतिक रूपमै सौन्दर्यकरण गरिने छ’

    काठमाडौँ– शिक्षामन्त्री महावीर पुनले त्रिभुवन विश्वविद्यालयस्थित राज्याभिषेक उद्यानलाई प्राकृतिक रूपमै सौन्दर्यकरण गरिने बताएका छन्।

    मन्त्रीको कार्यभार सम्हाले लगत्तै उक्त उद्यानलाई पुनर्जीवन दिने घोषणा गरेका मन्त्री पुनले आज निरीक्षणपछि प्राकृतिक स्वरुपमै पार्क निर्माणमा जोड दिएका हुन्। “उद्यानलाई अहिले जस्तो झाडीले ढाक्न दिइने छैन र कृत्रिमता नझल्किने गरी सुन्दर बनाइने छ”, उनले भने “विगतमा चितुवा लुक्ने झाडी रहेको उद्यानलाई राम्रोसँग हिँड्डुल्न गर्न मिल्ने स्थान बनाइने छ।”

    मन्त्री पुनले उद्यानको पुनर्जीवनले उच्च शिक्षाको केन्द्रीय थलोका रूपमा रहेको त्रिवि परिसर शृंगार गरे जत्तिकै हुने भन्दै यसका लागि सरकारले आर्थिक स्रोत खोजिरहेको जानकारी दिए। त्रिविलाई भौतिक रूपमा मात्र नभई शैक्षिक रूपमा समेत सुन्दर बनाउने आफ्नो सपना रहेको भन्दै उनले त्यसका लागि त्रिविलाई राजनीतिमुक्त बनाउनुपर्नेमा जोड दिए।

    विगत ४५ दिनदेखि हालसम्म करिब चार हजार जनाले स्वयंसेवकका रूपमा उद्यानको झाडी फाँड्ने र सरसफाइको काममा जुटेका त्यस अवसरमा जानकारी दिइयो। सरसफाइमा हरेक दिन २० देखि ३० जना र शनिवार ४०० जना सम्म सहभागी हुने गरेका छन्।

    विभिन्न संस्थाले स्वस्फूर्त रूपमा सरसफाइ गर्न आवश्यक औजार, खाजा खर्चसमेत गरी झन्डै रु. पाँच लाख बराबरको सहयोग गरिसकेका र हाल झाडी फाँड्ने काम ९० प्रतिशत सकिएको मन्त्री पुनलाई जानकारी गराइएको थियो।