काठमाडौँ– नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई यसअघि नै मिसन ०८४ नभई पतन ०८४ आउँछ भनेर आफूले भनेको बताएका छन्।
आज (शुक्रबार) धनगढीमा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्ने क्रममा रावलले यस्तो बताएका हुन्।
यस्तै उनले भने, ‘मैले त्यही बेलामा भनेको थिएँ, मिसन ०८४ होइन पतन ०८४ आउँदै छ भनेको थिएँ,’ रावलले भने।
उनले जेन जेड आन्दोलनमा जलेका संरचनाको खरानी धसेर ओलीले जनतालाई तर्साउन थालेको आरोप समेत लगाए।
‘आज केपी ओलीजी खरानी धसेर जनतालाई तर्साउन खोज्दै हुनुहुन्छ,’ रावलले भने।
उनले अब सुदूरपश्चिमका जनता राष्ट्रिय स्वाधीनताको झण्डा बोकेर उत्रने पनि विश्वास व्यक्त गरे।
‘आउने निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी जनताको ताजा जनादेश लिन तयार छ। विगतका कुनै पनि गल्ती त्रुटिलाई दोहोरिन नदिई निर्वाचन सम्पन्न गराउन तयार छ,’ उनले भने।
साथै उनले सुदूरपश्चिमबाटै नेकपा एक नम्बर दल बन्ने दाबी समेत गरे।
‘नेपाली कम्युनिस्ट पार्टी सुदूरपश्चिमबाट एक नम्बरमा आयो आयो भन्ने सन्देश अहिलेको सभाले दिएको छ। चुनावमा समेत हामी एकजुट भएर सबै जाती, भाषा, धर्म क्षेत्रका जनता एकजुट हुनेछौँ,’ रावलले भनेका छन्।