काठमाडौं– जनता समाजवादी पार्टीका नेता अशोक राईले चार पार्टी मिलेर सरकार बनाउने विषयमा छलफल भइरहेको बताएका छन्।
नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा चलिरहेको चार दलको बैठकबाट बाहिरिंदै राईले अब सरकार गठनका लागि दुई वटा विकल्प रहेको बताए। “अब सरकार गठनका दुई वटा विकल्प छन्,” राईले भने, “एउटा, कांग्रेस र एमाले मिलेर बनाउन सक्छन्। दोस्रो, एमाले, माओवादी सहित हामी मिलेर सरकार बनाउन सक्छौं।”
अहिले दोस्रो विकल्पका विषयमा छलफल भइरहेको उनले बताए। “एमाले, माओवादी सहित हामी मिलेर सरकार बन्न सक्छ, त्यसमा छलफल चलिरहेको छ,” राईले भने।
बालकोटमा एमाले अध्यक्ष ओली, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टी अध्यक्ष रवि लामिछाने र जसपा नेता राईबीच छलफल भएको हो। एमाले, माओवादी र स्वतन्त्र पार्टीका नेताबीच छलफल जारी छ।
बालकोट बैठकबाट बाहिरिएका जसपा नेता राईले आफ्नो पार्टीको नेताहरूसँग छलफल गर्न हिंडेको बताए। “म सरकार गठनका विषयमा हाम्रा साथीहरूसँग छलफल गर्न निस्केको हुँ, अन्य नेताहरू छलफल गरिरहेका छन्,” राईले भने।
प्रतिनिधि सभामा एमालेका ७८, माओवादीका ३२, स्वतन्त्र पार्टीका २० र जसपाका १२ सांसद छन्। चारै दलका गरी १४२ सांसद हुन्छन्।
२७५ सदस्यीय प्रतिनिधि सभामा सरकार गठनका लागि १३८ सांसदको आवश्यकता पर्छ।
प्रतिनिधि सभामा कुनै पनि दलको बहुमत नपुगेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले दुई वा दुईभन्दा बढी दल मिलेर प्रधानमन्त्रीको दाबी पेश गर्न आज साँझ ५ बजेसम्मको समय दिएकी छन्।