काठमाडौँ – नेकपा एमालेका सांसद डा. भीम रावलले निर्दलीय अभ्यासतिर देशलाई धकेलिएको आरोप लगाएका छन्। मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन्।
सांसद रावलले नेपालको संविधानको धारा २६९ ले ‘समान विचारधारा, दर्शन, कार्यक्रम भएका व्यक्तिहरु एउटा राजनीतिक दलमा आवद्ध हुनेछन्, त्यस्तो दलले यही कुरा निर्वाचन आयोगमा दर्ता गर्नुपर्ने’ लेखिए पनि यसको खुलेआम उल्लंघन भइरहेको बताए।
उनले कुनैपनि सार्वजनिक पद धारण गर्ने, शपथ लिनुपर्ने व्यक्तिले आफ्नो जिम्मेवारी वहन गर्दा प्रचलित कानूनको पालना गरी, मुलुक र जनताको भलो चिताइ, कसैको डर नमानी पक्षपात नगरी, पूर्वाग्रह वा खराब भावना नलिइ इमान्दारिताका साथ गर्नेछु भन्नेकुरा लेखिए पनि देशमा अहिले विदेशीसँग थर्कमान भइ, डरमानी, संविधान मिचि, उल्लंघन गरी मनपरी गर्नेछु भन्नेजस्तो चरित्र देखिन थालेको टिप्पणी गरे।
सांसद रावलले शपथ लिइसकेपछि यसलाई कानूनी रुपमा अनिवार्य पालना गर्नुपर्ने, नगरेमा कारबाही गर्ने प्रावधान राख्न माग गरे।दसरकारले बिना कुनै हिच्किचाहट माथिल्लो कर्णालीमा जिएमआर कम्पनीसँग गरिएको सम्झौताको ठाडो उल्लंघन गरेको आरोप लगाए।
रावलले भने, ‘कुनैपनि सार्वजनिक पद धारण गर्ने, शपथ लिनुपर्ने व्यक्तिले आफ्नो जिम्मेवारी वहन गर्दा प्रचलित कानूनको पालना गरी, मुलुक र जनताको भलो चिताइ, कसैको डर नमानि पक्षपात नगरी, पूर्वाग्रह वा खराब भावना नलिइ इमान्दारिताका साथ गर्नेछु भन्नेकुरा लेखिएको छ। तर हाम्रो देशमा के देखियो भने विदेशीसँग थर्कमान भइ, डरमानी, संविधान मिचि, उल्लंघन गरी मनपरी गर्नेछु भन्नेजस्तो चरित्र देखिन थाल्यो।
उनले थपे, ‘तर त्यसको खुलआम उल्लंघन गरिएको छ। एकप्रकारको निर्दलीय अभ्यासतिर देशलाई धकेलिएको छ। अनि यो शपथको के अर्थ भयो त्यसकारण यो शपथ लिइसकेपछि यसलाई कानूनी रुपमा अनिवार्य पालना गर्नुपर्ने, नगरेमा कारबाही गर्ने प्रावधान राख्नुपर्छ। राज्य साझेदारी कार्यक्रम अमेरिकासँगको सहकार्यदेखि लिएर एमसीसी, माथिल्लो कर्णालीमा जिएमआर कम्पनीसँग गरिएको सम्झौताको ठाडो उल्लंघन गरेको छ,।