काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा भएका शीर्ष नेताहरू उमेरका हिसाबले करिब उत्तरार्धतिरै भएको स्वीकार गरेका छन्।
आज (बिहीबार) राष्ट्रिय सभागृहमा आयोजित एकता सभालाई सम्बोधन गर्दै उनले आफूहरू उत्तरार्धतिर रहेको भए पनि जेनजीभन्दा कम नभएको बताए।
राष्ट्रप्रतिको जिम्मेवारी, राष्ट्र बचाउनुपर्छ भन्ने कुरामा, समाजवादको यात्रा अघि बढाउने विषयमा आफूहरू जेनजी युवाभन्दा कम नभएको उनको भनाइ थियो।
‘हुन त उमेरका हिसाबले हामी यहाँ जति नेता छौं, उत्तरार्धतिर छौं। तर राष्ट्रप्रतिको जिम्मेवारी, राष्ट्र बचाउनुपर्छ भन्ने कुरामा, समाजवादको यात्रा जसरी पनि अघि बढाउनुपर्छ भन्ने कुरामा हामी कुनै जेनजी युवाभन्दा कम पनि छैनौं,’ प्रचण्डले भने, ‘अन्तिम अवस्थासम्म हामी त्यो अभिभावकीय पूरा गर्न चाहन्छौं। जेनजी युवाहरूको असली अभिभावक बन्न चाहन्छौं। उनीहरूको समेत तागतलाई जोडेर समाजवादी क्रान्ति सम्पन्न गर्न चाहन्छौं।’
साथै, उनले आफूलाई पदमा लिप्त भएर बिसिरहन चाहेको रुपमा नबुझ्न पनि आग्रह गरे।
‘यसो भन्दै गर्दा पदमा बसिराख्न खोजे भनेर आरोप गरिन्छ । हामी पद भइराख्नपर्छ भन्ने छैन। हामीलाई सक्रिय राजनीति बनिराख्ने वातावरण बन्यो भने हामीलाई पद ठूलो होइन,’ प्रचण्डले भने।