बालकोटमा नयाँ समीकरणको प्रयास - Chaitanya News
  • 2026-05-07
  • 10:10:04
  • बिहिबार,बैशाख २४, २०८३
  • बालकोटमा नयाँ समीकरणको प्रयास

    बालकोटमा नयाँ समीकरणको प्रयास

    काठमाडौं– नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) लगायतका दलले वैकल्पिक समीकरण बनाएर सरकारका लागि बहुमत जुटाउने कसरत शुरू गरेका छन्।

    राष्ट्रपति विद्या भण्डारीले संविधानको धारा ७६ (२) अनुसारको सरकार गठनका लागि दिएको समय सकिनै लाग्दा एमाले–माओवादीलगायतका दलले बहुमत जुटाउने कसरत गरेका हुन्।

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा जारी बैठकमा प्रतिनिधिसभाका दोस्रो, तेस्रो, चौंथौ र छैटौँ दल सहभागी छन्।

    पाँचौं दल राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले एमाले अध्यक्ष ओलीसँग छलफल गरिसकेका छन्।

    बालकोटमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने लगायत सहभागी छन्।

    जसपाका संघीय परिषद् अध्यक्ष अशोक राई केहीबेर छलफलमा बसेर संस्थागत निर्णयका लागि भन्दै बाहिरिएका छन्।
    बालकोट पुगेका दलहरूको मत संख्या जोड्दा स्पष्ट बहुमत पुग्छ। प्रतिनिधिसभामा एमालेसँग ७८, माओवादीसँग ३२, रास्वपासँग २० सीट छ।

    यस्तै राप्रपाको १४ र राजपाको १२ सीट छ। पाँच दल जोड्दा १५६ पुग्छ। राप्रपा या राजपाविना पनि बहुमत पुग्छ। जसपा नहुँदा १४४ हुन्छ भने राप्रपा बाहिर रहँदा १४२ पुग्छ।

    वामपन्थीको नेतृत्वमा नयाँ गठबन्धनको सरकार बन्दा जनमत पार्टीका ६ र नागरिक उन्मुक्ति पार्टीका ४ सांसद पनि जोडिन सक्छन्।

    राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीका एक एक सांसद पनि वामपन्थी गठबन्धनको पक्षमा उभिने सम्भावना रहन्छ।