वर्तमान सरकारको प्रमुख कार्यभार दुई वटामात्र : नवनियुक्त मुख्य सचिव - Chaitanya News
  • 2026-04-29
  • 22:48:16
  • बुधबार,बैशाख १६, २०८३
  • वर्तमान सरकारको प्रमुख कार्यभार दुई वटामात्र : नवनियुक्त मुख्य सचिव

    वर्तमान सरकारको प्रमुख कार्यभार दुई वटामात्र : नवनियुक्त मुख्य सचिव

    काठमाडौँ– नवनियुक्त मुख्य सचिव सुमनराज अर्यालले जेनजी आन्दोलनपछि गठित वर्तमान सरकारको प्रमुख कार्यभार दुई वटामात्र रहेको प्रस्ट पारेका छन्।

    आज (बुधबार) पद बहालीपछि विभिन्न मन्त्रालयका सचिव तथा कर्मचारीहरूलाई सम्बोधन गर्दै मुख्य सचिव अर्यालले २०८२ फागुन २१ गते प्रतिनिधि सभाको चुनाव सम्पन्न गर्ने र भ्रष्टाचारमुक्त, सुशासनमुक्त शासन व्यवस्था कायम गर्ने वर्तमान सरकारको प्रमुख दुई कार्यभार रहेको बताए।

    ‘सरकारका काँधमा रहेका यी दुई महत्त्वपूर्ण जिम्मेवारीलाई पूरा गर्न सरकारलाई सबै हिसाबले सहयोग गर्न हामी समग्र प्रशासन यन्त्र प्रतिबद्ध र क्रियाशील हुन जरुरी छ,’ उनले भने।

    मुख्यसचिव अर्यालले आफू ‘टिम स्प्रिट’मा काम गर्ने कुरामा विश्वास गर्ने भन्दै निजामती सेवाका सबै तहका कर्मचारीलाई तोकिएको जिम्मेवारी समयमै सम्पादन गर्न आग्रह समेत गरे।

    जेनजी पुस्ताले असल र उत्तरदायी शासनको माग गरेको, देशभित्रै गरिखाने वातावरण निर्माणका लागि दबाब दिएको मुख्यसचिव अर्यालले प्रस्ट पारे।

    ‘यो कुरालाई हामीले गम्भीरताका साथ मनन गरी तदनुसार काम गर्न आवश्यक छ,’ उनले भने, ‘यस सन्दर्भमा निजामती सेवालाई जनउत्तरदायी, सदाचार युक्त र आधुनिक प्रविधिमा आधारित नतिजामुखी संयन्त्रको रूपमा स्थापित गर्न नेतृत्व तहमा काम गर्ने हामीले आवश्यक पहलकदमी लिनुपर्दछ।’