भारतको मजदुरीबाट फर्केर एकै वर्षमा लोक सेवाका ७ परीक्षा नाम निकाल्न सफल लोकेन्द्र - Chaitanya News
  • 2026-06-14
  • 15:25:15
  • आइतबार,जेठ ३१, २०८३
  • भारतको मजदुरीबाट फर्केर एकै वर्षमा लोक सेवाका ७ परीक्षा नाम निकाल्न सफल लोकेन्द्र

    भारतको मजदुरीबाट फर्केर एकै वर्षमा लोक सेवाका ७ परीक्षा नाम निकाल्न सफल लोकेन्द्र

    काठमाडौं– सरकारी सेवा, अझ त्यसमा पनि निजामती सेवामा प्रवेश गर्ने प्रत्यक व्यक्तिको सपना हुन्छ। तर, त्यस्तो अवसर थोरै व्यक्तिले मात्र पाउँछन्। तयरी गरेर बसेका सबै व्यक्ति पनि सरकारी सेवामा प्रवेस गर्न सकिरहेका हुँदैनन्। कोही लामो समय तयारी गरेर पनि विभिन्न कारणले निजी क्षेत्रमा काम गरिरहेका हुन्छन्। कोही विदेश पलायन हुन बाध्य भएका छन्। तर भारतको मजदुरीबाट फर्केर सरकारी सेवामा प्रवेश गरेका व्यक्ति लोकेन्द्र बोहरा ।

    अछामको मंगलसेन–४ नवविसका लोकेन्द्र बोहरा लोकसेवा आयोगको परीक्षामा पहिलो प्रयासमै ७ ठाउँबाट नाम निकाल्न सफल भएका छन्।

    २०८१ पुसदेखि २०८२ भदौसम्म बोहराले प्रदेश तथा संघीय लोक सेवाले लिएको हेल्थ असिस्टेन्ट पाँचौं र अहेव चौथो तहमा सात ठाउँमा नाम निकालेका हुन्।

    बोहराले पहिलो प्रयासमै गण्डकी प्रदेश लोक सेवा आयोगले लिएको अहेव (चौथो), कर्णाली प्रदेश लोक सेवा आयोगले लिएको हेल्थ असिस्टेन्ट (पाँचौ), कोशी प्रदेशमा हेल्थ असिस्टेन्ट (पाचौं), गण्डकीमा हेल्थ असिस्टेन्ट (पाचौं), कोशीमा अहेव (चौथो), नेपाल प्रहरी, प्राविधिक प्रहरी सहायक निरीक्षक (चौथो) तथा संघीय लोकसेवा आयोगले लिएको हेल्थ असिस्टेन्ट (पाँचौं) मा नाम निकालेका हुन्।

    सात ठाउँमा नाम निकालेका बोहराले तीन ठाउँमा मात्रै अन्तर्वार्ता दिएका थिए। अहिले उनी कालिकोट जिल्लामा हेल्थ असिस्टेन्ट पाँचौ तहमा कार्यरत छन्

    लोकेन्द्रले यो सफलता भने सजिलै प्राप्त गरेका होइनन् । उनले यो सफलता हात पार्न धेरै द’ख र मेहेनत गरेको बताए । ‘यति सबै ठाउँमा नाम निकाल्छु भन्ने त लागेको थिएन । पढाइको निरन्तरता र आत्मविश्वास भए लोक सेवा पास गर्न असहज रहेनछ उनले स’नाए।’

    मंगलसेन नगरपालिका–४ स्थित राधा माध्यमिक विद्यालयमा कक्षा ६ सम्म र वडा ५ मा रहेको शोडषा माविमा कक्षा ९ सम्म पढेर १३ वर्षको छँदा उनी पढाइ छाडेर कामको खोजीमा भारत पुगेका थिए । ‘९ कक्षा पुगिसकेपछि पढ्न मनै गएन । पढाइ सक्दिनँ भनेर हरेस खाइसकेको थिएँ,’ लोकेन्द्रले भने, ‘कक्षामा पनि बस्नै मन लाग्दैनथ्यो । पछाडिको बेञ्चमा गएर बस्थें । पढ्नै सक्दिनँ भन्ने लागेपछि ९ कक्षामा पढाइ छोडेर १३ वर्षको उमेरमा काम गर्न भारत गएँ ।’

    लोकन्द्रका ४ दाजुभाइ छन् । जेठा दाजु भारतमै बस्छन् । उनकै भरोसामा भारत गएका लोकेन्द्रले पुणे सहरको एक पुस्तक पसलमा सरसफाइको काम पाए । ‘मासिक ६ हजार भारु पाइन्थ्यो । दुई वर्ष त धेरै दुःख पाएँ । पढाइ छाडेकोमा पछुतो पनि हुन्थ्यो,’ लोकेन्द्रले भने, ‘फेरि पढौंला भन्ने त सोचेको पनि थिइनँ । आमा र दाजुले हाम्रा लागि भए पनि घर आएर पढ्नुपर्छ भनेर बोलाउन थाले ।’

    हेल्थ असिस्टेन्ट पदमा कार्यरत उनका दाजु अर्जुन बोहराको सपना पनि भाइले पढेर सरकारी जागिर गरोस् भन्ने थियो । ‘एक दिन दाइले पढ्नुपर्छ । घर फर्क भन्नुभयो । भारतमा काम गर्दा दुःख पनि थियो । त्यताबाट घर फर्किएँ,’ ‘पहिले ९ कक्षामा छाडेको स्कुलमा फेरि पढ्न लाज लाग्यो । आफूभन्दा जुनियर भाइबहिनी जिस्काउलान् भन्ने सोच्थें ।’

    लोकेन्द्रका दाजु अर्जुन मधेश प्रदेशको महोत्तरीको गौशालामा काम गर्थे । उनी दाजु भएकै ठाउँमै पुगे । उनले सुनाए, ‘दाजुले उतै ९ कक्षामा पढ्न बोलाउनुभयो । गणित र अंग्रेजीमा कमजोर भएकाले दाइकै निगरानीमा पढें ।’ उनले त्यहींको त्रिभुवन माविबाट २०७६ मा एसईई गरे । ‘कोभिडका कारणले विद्यालयले आन्तरिक मूल्यांकन गरेर एसईईका नम्बर दिएको थियो,’ उनले सुनाए, एसईईपछि धनगढी पुगेर तीनवर्षे हेल्थ असिस्टेन्ट पढें ।’

    एचएको अन्तिम परीक्षा दिएर भेटघाटका लागि घर आएका बेला उनले लोक सेवाको तयारी गर्ने योजना बनाएका थिए । त्यही सपना पूरा गर्न उनी काठमाडौं हान्निए । २०८१ जेठमा पहिलो प्रयासमै लाइसेन्स परीक्षा उत्तीर्ण गरेपछि उनी लोक सेवाको अर्को चरणको तयारीमा लागे ।

    भारतमा काम गर्दागर्दै बुबाको हृदयाघातका कारण मृत्यु भएपछि कष्टपूर्ण जीवन बाँच्नुपरेका लोकेन्द्र भन्छन् ‘दाइले नबोलाएको भए अहिले म भारतमै मजदुरी गरिरहेको हुन्थें । १३ वर्षको उमेरमा पढ्न हरेस खाएर भारत गएको म अहिले पढाइ नै लत भएको छ ।

    लोकेन्द्रको यो यात्रा केवल व्यक्तिगत सफलताको कथा मात्र होइन, यो हजारौँ युवा, विशेष गरी मध्य वर्गका परिवारका लागि प्रेरणाको उज्यालो किरण हो ।