बालकोटमा ओली र लामिछानेको भेट - Chaitanya News
  • 2026-05-07
  • 10:09:39
  • बिहिबार,बैशाख २४, २०८३
  • बालकोटमा ओली र लामिछानेको भेट

    बालकोटमा ओली र लामिछानेको भेट

    काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटेका छन्।

    लामिछानेले शनिबार ओली निवास बालकोट पुगेर उनलाई भेटेका हुन्। राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि दिएको समयसीमा आइतबार सकिन लागेसँगै दलहरूबीच बिहानैदेखि छलफल र भेटघाट बाक्लिएको छ।

    नेपाली कांग्रेस नेतृत्वको सत्ता गठबन्धनको सरकार बन्ने सम्भावना क्षीण बन्दै गइरहेको बेला लामिछानेले ओलीलाई उनकै निवासमा पुगेर भेटेका हुन्।

    यो निर्वाचनबाट स्वतन्त्र र वैकल्पिक शक्तिहरू पनि सरकार निर्माणमा वैकल्पिक बनेका छन्। लामिछानेले ओलीसँग सरकार गठनका सन्दर्भमा छलफल गरेका हुन्।

    राष्ट्रपति भण्डारीले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई नेपालको प्रधानमन्त्रीका लागि दावी पेस गर्न आज साँझ ५ बजेसम्मको समयसीमा दिएकी छन्।

    राष्ट्रपतिले दिएको समयसीमाभित्र प्रधानमन्त्रीका लागि दावी पेस नभए संविधानको धारा ७६ (३) अनुसार ठूलो दलको नेता प्रधानमन्त्री बन्ने प्रक्रिया अघि बढ्नेछ।

    लमिछानेको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा सहभागी हुने नहुनेबारे अहिले दिउँसो छलफल पनि गर्दैछ।

    सत्ता गठबन्धनको सरकार बन्ने सम्भावना कम भएकाले एमाले अध्यक्ष ओली नेतृत्वको सरकार बन्ने अर्को सम्भावना छ। लामिछाने सोही सम्भावनाबारे छलफल गर्न बालकोट पुगेका हुन्।