काठमाडौँ– २१ फागुनमा हुने प्रतिनिधि सभाको निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा ४६ हजार नयाँ मतदाता थपिएका छन्।
निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ताका लागि दिएको समयसीमा भित्र ४६ हजार २० मतदाता थपिएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ।
निर्वाचन कार्यालयका अनुसार २९ हजार ४३९ जनाले राष्ट्रिय परिचयपत्र र बाँकी १६ हजार ५८१ जनाले सम्बन्धित निर्वाचन कार्यालयमै पुगेर मतदाता नामावलीमा नाम दर्ता गराएको छन्।
कार्यालयका अनुसार सबैभन्दा मतदाता कैलालीमा थपिएका छन् भने कम बाजुरामा रहेका छन्। कैलालीमा १८ हजार २१३ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएको बताइएको छ। सबैभन्दा कम रहेको बाजुरामा एक हजार ५१७ जना थपिएका छन्।
कैलालीपछि क्रमशः कञ्चनपुरमा १२ हजार २९१, बैतडीमा दुई हजार ६५२, दार्चुलामा दुई हजार ६२८, अछाममा दुई हजार ६०४, बझाङमा दुई हजार ३४५, डडेल्धुरामा एक हजार ८९२ र डोटीमा एक हजार ८७८ जना मतदाता थपिएका छन्।