काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा चार दलबीच छलफल सुरु भएको छ।
एमाले अध्यक्ष ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र जनता समाजवादी पार्टीका नेता अशोक राईलगायतका नेताहरूबीच छलफल सुरु भएको हो।
नेपाली कांग्रेस राष्ट्रपति र प्रधानमन्त्री दुबै पद छाड्न तयार नभएपछि माओवादी सत्ता गठबन्धनको वार्ता छाडेर एमालेसँग छलफलमा बसेको हो। रास्वपा र जसपा पनि थपिएपछि चार दलसँग सरकार गठनका लागि आवश्यक बहुमत पुग्छ।
एमालेसँग ७८, माओवादी केन्द्रसँग ३२, रास्वपासँग २० र जसपासँग १२ जना सांसद छन् । २७५ सदस्यीय प्रतिनिधिसभामा सरकार गठनका लागि १३८ सांसदको समर्थन चाहिन्छ।
मिलिजुली सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय आइतबार साँझ ५ बजे सकिँदैछ।
१४ सांसद भएको दल राप्रपा पनि एमालेसँग संवादमै छ। राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन एमाले अध्यक्षसँग वार्ता गरेर निस्किएका छन्।