काठमाडौँ– प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् बैठक बोलाएकी छन् । यो सँगै सिंहदरवारमा कर्मचारीयन्त्रमा नयाँ नेतृत्वको चर्चा शुरु भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मध्यान्ह ३ बजे बस्न लागेको बैठकले मन्त्रालयका केही नियमित एजेन्डासँगै स्थायी सरकारसमेत मानिने प्रशासनिक संरचनाको सर्वोच्च पद–मुख्यसचिव नियुक्ति पनि गर्ने तयारी गरेको उच्च स्रोतले जानकारी दिएको छ।
हालका मुख्यसचिव एकनारायण अर्याल मङ्गलवार (भोलि) राति १२ बजेदेखि अनिवार्य अवकाशमा जाँदै छन्। यससँगै रिक्त हुँदै गरेको पदमा नयाँ मुख्यसचिव आजै नियुक्त गर्ने सरकारको सम्भावना प्रबल रहेको ती स्रोतले जानकारी दिए।
मुख्यसचिवको दौडमा अहिले तीन नाम प्रमुख रूपमा चर्चामा छन्(सुमन अर्याल, मधुसूदन बुर्लाकोटी र डा. कृष्णहरि पुष्कर। योग्यताको मूल्याङ्कन र प्रशासनिक अनुभवलाई आधार बनाउँदै सरकारले नयाँ मुख्यसचिव चयन गर्ने संकेत उच्च स्रोतबाट प्राप्त भएको छ।