काठमाडौँ– लुम्बिनी प्रदेश सभाको सातौँ (हिउँदे) अधिवेशन आजबाट सुरु हुँदैछ सातौँ अधिवेशनको पहिलो बैठक दिउँसो १ बजे बस्दैछ। बैठकमा सभामुखले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त तीन वटा पत्र पढेर सुनाउने छन्।
ती पत्रमा सातौँ अधिवेशन आह्वानसम्बन्धी सूचना, मन्त्रिपरिषद् पुनर्गठनबारे पत्र र छैटौँ अधिवेशनबाट पारित भई प्रमाणीकरण भएका विधेयकसम्बन्धी पत्र समावेश छन्। बैठकमा सभामुखले माननीय सदस्यहरूको उपस्थिति(अनुपस्थितिको जानकारी पेस गर्ने छन्। त्यसपछि दलका तर्फबाट प्रदेश सभा सदस्यहरूले शुभकामना मन्तव्य राख्ने कार्यक्रम रहने प्रदेश सभा सचिव दुर्लभ कुमार पुनमगरले बताए।
हिउँदे अधिवेशनका लागि छलफल गर्न प्रदेशसभा सचिवालयमा जिल्ला सभा तथा जिल्ला समन्वय समिति सञ्चालनसम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक र स्थानीय तहका पदाधिकारी तथा सदस्यहरूको सुविधा सम्बन्धी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक दर्ता भइसकेका छन्। प्रदेश मन्त्रिपरिषद् बैठकबाट थप विधेयकहरू प्रदेशसभामा पेश गर्न स्वीकृति दिएको छ।
लुम्बिनी प्रज्ञा प्रतिष्ठान स्थापना तथा सञ्चालन गर्न बनेको विधेयक, प्रदेश जीवनाशक विषादी व्यवस्थापन तथा नियमनसम्बन्धी विधेयक, दलित समुदायको अधिकार सुनिश्चित गर्ने विधेयक पेश गर्न सरकारले स्वीकृत दिएको हो।