काठमाडौँ– चालु आर्थिक वर्षको पहिलो चार महिना (२०८२–८३ साउन–कात्तिक) मा नेपालबाट हुने निर्यात ७७.५१ प्रतिशतले वृद्धि भएको छ।
गत आर्थिक वर्ष (२०८१–८२) को सोही अवधिमा ५२ अर्ब ६७ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको थियो। यस वर्ष बढेर ९३ अर्ब ४९ करोड ५७ लाख रुपैयाँ पुगेको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ।
निर्यातमा देखिएको यो वृद्धि अर्थतन्त्रका लागि सकारात्मक सङ्केत हो। कुल निर्यात हुनेमा सबैभन्दा ठुलो हिस्सा क्रमशः, फलाम, तेलघ्युजन्य वस्तु र धागो रहेका छन्।
यो चार महिनाको अवधिमा कुल निर्यातमध्येमा ४५ अर्ब १४ करोड ३७ लाख रुपैयाँको फलाम तथा फलामजन्य वस्तु निर्यात भएको छ।
यसैगरी दोस्रोमा ४४ अर्ब ७० करोड २३ लाख रुपैयाँको तेल तथा घ्युजन्य वस्तु र तेस्रोमा ९ अर्ब ९३ करोड ३३ लाख रुपैयाँको विभिन्न प्रकारको धागो निर्यात भएको छ।
त्यस्तै ठुलो हिस्सामा निर्यात हुनेमा ५ अर्ब ९१ करोड २२ लाख रुपैयाँको चिया कफी तथा मसलाजन्य वस्तु, ४ अर्ब ५५ करोड ३७ लाख रुपैयाँको तयारी तथा अन्य कपडा, ३ अर्ब ६० करोड ७९ लाख रुपैयाँको कार्पेट निर्यात भएको विभागको तथ्याङ्कमा उल्लेख छ।
यसैगरी १ अर्ब ३९ करोड १५ लाख रुपैयाँको बिरुवा, २ अर्ब २३ करोड ७१ लाख रुपैयाँको पशुजन्य आहार, १ अर्ब १९ करोड १९ लाख रुपैयाँको पेष्टिकुकका उत्पादन, १ अर्ब ४२ लाख रुपैयाँको साल्ट सल्फर, १ अर्ब १६ करोड ८७ लाख रुपैयाँको फर्माटिकल, २ अर्ब ३९ करोड ४८ लाख रुपैयाँको काठ तथा काठजन्य वस्तु १ अर्ब ४ लाख रुपैयाँको जुत्ता चप्पल, २ अर्ब ५१ लाख रुपैयाँको निर्यात भएको विभागको तथ्याङ्कमा उल्लेख छ।