काठमाडौँ— प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहालले पहिलोपटक आफैं प्रधानमन्त्री हुनुपर्ने दाबी नछोडेपछि बालुवाटार बैठक निष्कर्षविहीन भएको छ। बैठकमा देउवा र दाहालबीच गरमागरम कुराकानी भएको एक नेताले जानकारी दिए।
देउवाले पहिलोपटक प्रधानमन्त्री दिने भन्ने यसअघिको वचन पूरा नगरेको प्रसंग दाहालले उठाएका छन्। चुनावअघि देउवाले पहिलोपटक दाहालाई प्रधानमन्त्री दिने भनेको तर अहिले आएर त्यसबाट पछि हटेको भन्दै आपत्ति जनाए।
पहिले वचन दिनुभयो अहिले वचनबाट पछि हट्नुभयो दाहालले बैठकमा भनेका थिए। देउवाले पहिले कार्यकालमा आफू नै हुने भन्ने अडान नछोडेपछि दाहाल वचन तोडेको भन्दै बालुवाटारबाट बाहिरिएका थिए। उनी बाहिरिएपछि सत्ता गठबन्धनको बैठक पनि सकिएको थियो। देउवाजीले छोड्न तयार नभएपछि प्रचण्डजीले त्यसलाई स्वीकार्नु भएन। गठबन्धन रहन्छ भन्ने अब सनिश्चितता रहेन एक नेताले भने।
बैठकपछि कांग्रेस नेता ज्ञानेन्द्र कार्कीले पार्टीभित्र आन्तरिक छलफल गर्नुपर्ने अवस्था भएकाले नेताहरुको बैठक रोकिएको बताए। उनले सहमति खोज्नका लागि पुन बैठक बस्ने जानकारी दिए।