काठमाडौं– प्रतिनिधिसभा सदस्यको उम्मेदवारले सम्पति र वैयक्तिक विवरण पेस गर्नुपर्ने हुन्छ। निर्वाचन आयोगले राजनीतिक दलहरूलाई राय सुझाव दिन भनेर पठाएको निर्वाचन आचारसंहितामा यस्तो प्रावधान छ।
निर्वाचन आचारसंहितामाको बुँदा नम्बर १९ मा सम्पत्ति विवरण पेस गर्नुपर्ने सम्बन्धी व्यवस्था छ। जहाँ भनिएको छ, ‘निर्वाचनमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली तर्फ उम्मेदवार हुने व्यक्तिले मनोनयनपत्र साथ आयोगले तोकेको ढाँचामा सम्पत्ति विवरण तयार गरी शिलबन्दी रुपमा सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा पेस गर्नु पर्नेछ।’
सम्पत्ति विवरण मतदानको अन्तिम परिणाम प्रकाशन नभएसम्म सुरक्षित र गोप्य रुपमा राखिनेछ। सम्पत्ति विवरण पेस गर्ने उम्मेदवार निर्वाचित भएमा सम्बन्धित व्यक्तिको मज्जुरीको आधारमा आयोगले तोके बमोजिम त्यस्तो सम्पत्ति विवरण सार्वजनिक गरिनेछ। उम्मेदवार निर्वाचित नभएमा आयोगले तोके फिर्ता माग गरेमा फिर्ता दिइनेछ।
सम्पत्ति विवरण फिर्ता माग नगरेमा त्यसको अभिलेख राखी धुल्याइनेछ। निर्वाचन आचारसंहितामाको बुँदा नम्बर २० मा वैयक्तिक विवरण पेस गर्नु पर्ने सम्बन्धी व्यवस्था छ। जहाँ भनिएको छ, ‘निर्वाचनमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली तर्फ उम्मेदवार हुने व्यक्तिले मनोनयनपत्र साथ आफ्नो नाम, थर, ठेगाना, शैक्षिक योग्यता, अनुभव तथा आफूले उल्लेख गर्न चाहेको थप विवरण उल्लेख गरी आयोगले तोके बमोजिमको ढाँचामा वैयक्तिक विवरण फाराम समेत पेस गर्नु पर्नेछ।’
त्यस्तो वैयक्तिक विवरण उम्मेदवारको अन्तिम नामावली प्रकाशन भए पछि निर्वाचन अधिकृतले आफ्नो कार्यालयमा प्रकाशन गरी आयोगमा पठाउनु पर्नेछ। आयोगले निर्वाचन क्षेत्र अनुसार एकीकृत विवरण तयार गरी आयोगको वेबसाइटमा प्रकाशन गर्नेछ।