बालुवाटारमा गठबन्धनको बैठक सकियो, अझै पुगेन निष्कर्षमा - Chaitanya News
  • 2026-05-07
  • 10:10:04
  • बिहिबार,बैशाख २४, २०८३
  • बालुवाटारमा गठबन्धनको बैठक सकियो, अझै पुगेन निष्कर्षमा

    बालुवाटारमा गठबन्धनको बैठक सकियो, अझै पुगेन निष्कर्षमा

    काठमाडौँ — बालुवाटारमा सरकार गठनका लागि गठबन्धनका नेताहरुबीचको बैठक सकिएको छ। बैठक सकिए पनि निष्कर्षमा पुगि नसकिएको बैठकबाट बाहिरिएका नेताहरु प्रतिक्रिया दिएका छन्।

    बैठकपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका स्वकीय सचिव रमेश मल्लले बैठकमा सहमति नभएको बताए। छलफल जारी छ। तर सहमति भएको छैन, उनले भने।

    गठबन्धनका नेताहरु बाहिरिएसँगै प्रधानमन्त्री शेरबहादुर देउवा पार्टीका नेताहरु रामचन्द्र पौडेल र पूर्णबहादुर खड्कासँग छलफल गरिरहेका छन्।

    चुनावमा आगामी पाँच वर्षसम्म गठबन्धनकै सरकारलाई निरन्तरता दिने प्रतिबद्वतासहित जनमत लिएका सत्ता गठबन्धन दल चुनावपछि भने सरकार गठनका लागि बार्गेनिङमा छन्। गठबन्धनमा रहेका दलहरुबीच शक्ति बाँडटको सहमति नहुँदा नयाँ सरकार गठन हुन सकेको छैन।

    राष्ट्रपति विद्यादेवी भण्डारीले ७ दिनको समय दिएर प्रधानमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेको समयसीमा आइतबार साँझ ५ बजे सकिदैछ। तर दलहरुबीच सरकार गठनबारे सहमति हुन सकेको छैन। नेपाली कांग्रेस नेतृत्वको सत्ता गठबन्धनमा रहेका दल शक्ति बाँडफाँटको अन्तिम कसरतमा छन्। बिहान पार्टीभित्र आ‍न्तरिक र शीर्ष नेताहरुबीच चरणबद्व छलफलपछि अहिले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफलमा बसेका थिए। छलफल मा सहमति नभएपछि दाहाल बाहिरिएका हुन्।

    माओवादी केन्द्रका नेताहरुले नेकपा एमालेसँग पनि अनौपचारिक छलफल गरिरहेका छन् भने कांग्रेसले पनि एमालेसँग संवाद टुटाएको छैन। आइतबार बिहानमात्रै कांग्रेस नेता विमलेन्द्र निधिले एमाले अध्यक्ष केपी ओलीलाई निवासमै पुगेर भेटेका थिए। बालुवाटार स्रोतका अनुसार अहिले गठबन्धनकै सरकार बनाउने विषयमा सहमति जुटाउन अन्तिम कसरत चलिरहेको छ।