काठमाडौँ– नागरिक समूहले सरकार, जेन जेड र दलहरू तीन वटै पक्षलाई संयमित हुन अपिल गरेको छ।
बाराको सिमरामा उत्पन्न तनावपूर्ण घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै नागरिक समूहले विज्ञप्तिमार्फत असजिला व्यवहारहरूले मुलुकलाई अनावश्यक संकटको दिशातर्फ धकेल्ने संकेत दिएको भन्दै संयमता अपनाउन आग्रह गरेको हो।
राजनीतिक स्थायित्व र फागुन २१ गते तोकिएको निर्वाचनको तयारीको संवेदनशील चरणमा देखिएको पछिल्लो अराजनीतिक गतिविधिले देशको समग्र लोकतान्त्रिक प्रक्रियामै प्रतिकूल प्रभाव पारेको विज्ञप्तिमा उल्लेख छ।
सिमरा विमानस्थलजस्तो अत्यन्त संवेदनशील क्षेत्रमै भएको भिडन्त, कर्फ्यू आदेश, संरचनाहरूमा क्षति, तथा दुवै पक्षबाट देखिएका असजिला व्यवहारहरूले मुलुकलाई अनावश्यक संकटको दिशातर्फ धकेल्ने संकेत दिएको पनि नागरिक समूहले उल्लेख गरेको छ।
त्यस्तै शान्तिपूर्ण निर्वाचन हुन नसके देश राजनीतिक शून्यतामा धकेलिन सक्ने भन्दै त्यसको प्रतिकूल असर सबै पक्षले भोग्नुपर्नेतर्फ नागरिक समूहले सचेत गराएको छ।
नागरिक समूहले सरकार, राजनीतिक दलहरू तथा जेन जेड समूहलाई देशको शान्ति सुव्यवस्थामा खलल पुग्ने तथा चुनावी वातावरण बिग्रने कुनै पनि गतिविधि नगर्न अनुरोध गरेको छ। ‘सबै पक्षहरू संयमित हुन, संवादमार्फत समस्या समाधान गर्न र संवैधानिक मार्गप्रति प्रतिबद्ध रहन अत्यावश्यक भएको नागरिक समूहको ठहर छ’ विज्ञप्तिमा उल्लेख छ।
चुनाव नै तोकिसकेको अवस्थामा राजनीतिक दलहरू विगतमा भन्दा बढी जनतामा जानु या राजनीतिक गतिविधि गर्नु स्वभाविक भएको उल्लेख गर्दै उसले चुनावी गतिविधि गर्दा दलहरू स्वयं पनि उक्साहट, भिडन्त र तनाव निम्त्याउने कार्यबाट अलग रहनुपर्ने नागरिक समूहको आग्रह छ। जेन जेड युवाहरू पनि संविधानको ख्याल गर्दै लोकतान्त्रिक मूल्य र शान्तिपूर्ण अभिव्यक्तिकै बाटोमा हिँड्नुको विकल्प नभएको विज्ञप्तिमा उल्लेख छ।