काठमाडौं– राष्ट्रिय सभा अन्तरगतको विधायन व्यवस्थापन समितिले अघिल्लो सरकारले ल्याएका र विचाराधीन विधेयक अघि बढाउन थालेको छ। आज (बिहिबार) समितिमा चलचित्र विधेयक, २०८१ मा सरोकारवालारविज्ञसँग छलफल छ।
यो विधेयक तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले गत वैशाख १४ मा ल्याएका हुन्। दफाबार छलफलका लागि राष्ट्रिय सभाले विधायन समितिमा पठाएको थियो।
२३ र २४ भदौमा जेनजी आन्दोलनले सत्ता उलटफेर गरेपछि राष्ट्रिय सभामा रहेका विधेयक के हुने भन्ने अन्योल थियो। तर, सरकारले छलफलमा अगाडि बढाउन सकिने सन्देश दिएपछि विधायन समितिले विधेयकमाथि छलफल प्रारम्भ गरेको हो।
विज्ञहरुले चलचित्र विकास बोर्ड संघीयता अनुकुल नरहेको, सेन्सर बोर्डको भूमिका सरलीकृत हुनुपर्ने लगायतका सुझाव दिएका छन्। छलफल जारी छ।