यूएईको भिसा आंशिक रूपमा खुला - Chaitanya News
  • 2026-05-27
  • 07:14:07
  • बुधबार,जेठ १३, २०८३
  • यूएईको भिसा आंशिक रूपमा खुला

    यूएईको भिसा आंशिक रूपमा खुला

    काठमाडौं– संयुक्त अरब इमिरेट्स (यूएई) ले जेनजी आन्दोलपछि कडाइ गरेको भिसा आंशिक रूपमा खुला गरेको छ। भिजिट भिसा र वर्किङ भिसामा कडाइ गरेको यूएईले भिसा आंशिक रूपमा मात्रै खुला गरेको हो।

    गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि यूएईले नेपालीलाई भिजिट तथा वर्किङ भिसा दिन कडाइ गरेको थियो। सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै भिसामा कडाइ गरेको यूएईले आंशिक रूपमा सहज बनाएको हो।

    नेपाल वैदेशिक रोजगार व्यवसायी संघका सचिव कुन्छा दोर्जे डिम्दोङले विशेष सेक्टरमा भिसा जारी भएको पाइएको बताए। उनका अनुसार सरकारी तथा गैरसरकारी क्षेत्रका वर्किङ भिसा जारी भइरहेको छ तर, अन्यको हकमा कुनै जानकारी दिइएको छैन।

    ‘पहिला बाँकी रहेकोहरूको जारी भइरहेको छ। त्यो बाहेक विशेष सेक्टरमा भिसा आइरहेको छ। सेमी गभर्मेन्ट तथा सरकारसँग जोडिएका कम्पनीहरूको भिसा एप्रुभल भइरहेको छ डिम्दोङले भने ‘स्पेशल अप्प्रुभल मात्रै भइरहेको छ।’

    त्यस्तै भिजिट भिसाको हकमा समेत आंशिक मात्रै खुला गरिएको उनले बताए। यूएईले १६ नोभेम्बरमा मात्रै १८ जना नेपालीको भिसा जारी गरेको थियो।

    परराष्ट्र मन्त्रालयका अधिकारीहरूका अनुसार पूर्ण रूपमाा बन्द नभएको र आंशिक रूपमा भिसा जारी भइरहेको छ। नेपालले भिसामा देखिएको असहजता हटाउन यूएई सरकारसँग निरन्तर छलफल तथा सम्बाद गरिरहेको छ। परराष्ट्र मन्त्रालयका प्रवक्ता लोक बहादुर पौडेल क्षेत्रीले यस विषयमा सम्बन्धित निकायसँग समन्वय र छलफल चलिरहेको बताए।

    परराष्ट्र मन्त्रालयले नेपालस्थित यूएई दूतावास अधिकारीहरूसँग समेत निन्तर छलफल गर्दै आएको छ। त्यस्तै यूएईमा रहेको नेपाली दूतावासले समेत यूएईका अधिकारीहरूसँग निरन्तर छलफल जारी राखेका छन्।

    मंगलबार मात्रै यूएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीले यूएईको परराष्ट्र मन्त्रालयका अधिकारीसँग भेट गरेका छन्। कन्सुलर मामिला हेर्ने कार्यबाहक सहायक उपसचिव रसिद मधरसँग भेट गरेका हुन्।

    भेटका क्रममा युएईमा रहेका नेपालीहरूले भोग्नु परेका कन्सुलर तथा श्रमसँग सम्बन्धित विविध विषयमा छलफल भएको दूतावासले जनाएको छ। यूएईमा रोजगारी मात्रै नभई भ्रमणका लागि आउने नेपालीको भिसा सहजीकरण गर्ने विषयमा समेत छलफल भएको थियो।

    यूएईले भदौ ३० गतेदेखि भिसामा कडाइ गरेको थियो। भिसामा कडाइ गर्नुको औपचारिक जानकारी नदिएको यूएईले अनौपचारिक रूपमा भने नेपालको जेनजी आन्दोलनपछि देखिएको सुरक्षा चुनौतीलाई कारण देखाएको थियो।

    प्रमुख श्रम गन्तव्य मानिएको यूएईले भिसामा कडाइ गरेपछि एक महिनामै त्यहाँ पुग्ने औसत ९ हजार ७ सय प्रभावित भएका थिए। भदौमा १९ हजार ६ सय २ जनाले श्रम स्वीकृति लिएकोमा असोजमा घटेर ९ हजार ८ सय ९८ जना पुगेका थिए।

    भिसामा कडाइ गर्दा यूएईको श्रम मन्त्रालयबाट श्रम अनुमतिपत्र अर्थात ‘मोल’ लिएका ४ हजारभन्दा बढी भिसा पाउनबाट वञ्चित भएका थिए। अहिले मोल जारी भएकाहरूको हकमा भिसा आउने गरेको म्यानपावर व्यवसायीहरूले बताएका छन्।

    व्यवसायीहरूले सुरक्षालाई देखाएर भिसा रोक्न नहुने बताउँदै त्यसका लागि सरकारको तर्फबाट कूटनीतिक पहल प्रभावकारी नभएको आरोप लगाउँदै आएका छन्।