काठमाडौँ– पूर्व प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको सरकार हुँदा अहिले जस्तो खुलेआम भ्रष्टाचारको काण्डहरू नभएको बताएका छन्।
आज (मंगलवार) पार्टी मुख्यालय च्यासलमा आयोजित पार्टीका विघटित प्रतिनिधि सभाका सांसदहरूको बैठकलाई सम्बोधन गर्दै आफू नेतृत्वको सरकारको पालामा केही भ्रष्टाचार भए पनि वर्तमान सरकारले जस्तो कुशासन र चरम भ्रष्टाचार नगरेको बताएका हुन्।
सम्बोधनको क्रममा उनले ऊर्जामन्त्री कुलमान घिसिङ र अर्थमन्त्री रामेश्वर खनालको नाम नलिई विद्युत् खरिदको नाममा करोडौँ घोटाला गरेको विदेशी कम्पनीलाई कर छुट दिएर कमिसन खाने काम वर्तमान सरकारले गरेको भन्दै आपत्तिसमेत जनाए।
‘देश समृद्धिको मार्गमा अघि बढिरहेको थियो। यस्तो अवस्थामा अनावश्यक ढंगले न देशमा त्यस्तो चरम भ्रष्टाचार थियो। भ्रष्टाचार हुँदो हो। कुन भ्रष्टाचार कहाँ, कहाँ निरको भ्रष्टाचार ? कुन केस ? अहिलेका जस्ता खासै तोकिएका यति करोडका विद्युत् खरिदका, विद्युत् बिक्रीका अथवा विदेशी कम्पनीलाई कर छुटका यस्ता खुलेआम भ्रष्टाचारका काण्डहरू त देखिएका थिएनन् त ? अहिले जुन देखिएको छ। त्यो त देखिएको थिएन। यस्तो कुशासन पनि देखिएको थिएन। विकासहिनता, राजनीति, अन्यौलग्रस्त, अराजक यस्तो त थिएन त,’ उनले भने ।