नवपुस्ताको जनभावना अनुरूप सेवा प्रवाहमा लाग्न कर्मचारीलाई गृहमन्त्री अर्यालको निर्देशन - Chaitanya News
  • 2026-10-16
  • 22:50:30
  • शुक्रबार,आश्विन ३०, २०८३
  • नवपुस्ताको जनभावना अनुरूप सेवा प्रवाहमा लाग्न कर्मचारीलाई गृहमन्त्री अर्यालको निर्देशन

    नवपुस्ताको जनभावना अनुरूप सेवा प्रवाहमा लाग्न कर्मचारीलाई गृहमन्त्री अर्यालको निर्देशन

    काठमाडौँ– गृहमन्त्री ओमप्रकाश अर्यालले नवपुस्ताको जनभावना अनुरूप काम गर्न र उनीहरूलाई न्यायको अनुभूति दिलाउने गरी कार्य गर्न आफू मातहतका निकायलाई निर्देशन दिएका छन्।

    आज (आइतबार) गृह मन्त्रालयमा आयोजित गृहसचिव रामेश्वर दंगालको अध्यक्षतामा बसेको नियमित एसएमटी बैठकमा मन्त्री अर्यालले सम्पूर्ण कर्मचारीहरूले एक्टिभिष्ट जसरी आ(आफ्नो जिम्मेवारी निर्वाह गरी सम्पूर्ण ध्यान निर्वाचन र यसको तयारीमा लाग्न समेत निर्देशन दिए।

    ‘अहिलेको सरकार भनेको कै निर्वाचनको सरकार भएकोले हामीलाई पुरानै संरचना र ऐन नियममा रहेर भन्दा पनि प्रविधिको प्रयोग गर्दै चुनावलाई अझ बढी सहभागिता मूलक बनाएर जनतालाई आफ्नो मताधिकारको सुनिश्चितता कायम गर्ने गरी जिम्मेवारी बहन गर्न निर्देश गर्दछु,’ मन्त्री अर्यालले बैठकमा भने।

    मन्त्री अर्यालले विभागीय प्रमुखहरूलाई आ(आफ्नो मातहतका कार्यालयहरूको जिम्मेवारी प्रभावकारी ढंगबाट सम्पादन गर्न निर्देशन गरे । ‘बढीभन्दा बढी कर्मचारीहरूले पनि जनसरोकारको विषयमा चासो राख्ने र सम्बन्धित ठाउँमै पुगेर सेवाग्राहीको काम गर्न र परिवर्तनको अनुभूति महसुस गर्ने गरी सेवा प्रवाहमा लाग्न निर्देशन गर्दछु,’ मन्त्री अर्यालको भनाइ उद्धृत गर्दै उनको सचिवालयले जनाएको छ।

    उनले गृह मन्त्रालयमा स्थापना गरिएको जेनजी समन्वय समिति र पीडितहरूका गुनासा बढी सुन्न र सम्बोधन गर्न सकिए मात्रै बाहिर अरूले बनाउने गलत र भ्रमपूर्ण भाष्यलाई मन्त्रालयले चिर्न समेत मातहतका निकायलाई निर्देशन दिए।

    बैठकमा गृहमन्त्री अर्यालले घाइतेहरूको राहत कार्यविधि छिट्टै टुङ्ग्याउने र जेन जेड घाइतेहरूलाई फिल्डमै राहत कार्ड वितरणमा गर्न समेत आदेश दिए।