ओेलीले भने ‘जेन जेडहरू संगठित गरेर माग पत्र लेख्नेहरू हामीले चिनेका छौँ, नेपालमा निःशुल्क तमासा देख्न पाइएको छ’ - Chaitanya News
  • 2026-05-08
  • 12:24:52
  • शुक्रबार,बैशाख २५, २०८३
  • ओेलीले भने ‘जेन जेडहरू संगठित गरेर माग पत्र लेख्नेहरू हामीले चिनेका छौँ, नेपालमा निःशुल्क तमासा देख्न पाइएको छ’

    ओेलीले भने  ‘जेन जेडहरू संगठित गरेर माग पत्र लेख्नेहरू हामीले चिनेका छौँ, नेपालमा निःशुल्क तमासा देख्न पाइएको छ’

    काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारमा रहेकाहरूले नै जेन जेडका नाममा ज्ञापन पत्र मस्यौदा गरेर बुझाउन लगाइरहेको बताएका छन्।

    आज (आइतबार) गुण्डुस्थित निवासमा प्रेस चौतारीका नेताहरूसँग छलफलका क्रममा ओलीले सरकारमा रहेकाहरूले सुशासन भनेकै केपी ओली र रमेश लेखकलाई गिरफ्तार गरेर थुन्नु हो भन्ने बुझेको आरोप लगाए। ओलीले विभिन्न नामका जेन जेड समूह खडा गरेर सरकारले तमासा देखाएको जिकिर गरे समेत गरेका छन्।

    यस्तै ओलीले भने, ‘यो सरकारले सुशासन भनेकै केपी ओली र रमेश लेखकलाई गिरफ्तार गर्ने भन्ने बुझेको छ। त्यसका निम्ति जेन जेड हरूलाई संगठित गर्ने, ज्यानजीहरूका माग पत्र लेखिदिने, उनीहरूलाई बोलाएर माग पत्र पढाउने, हातमा माग पत्र थमाउने, जेन जेडको डेलिगेसन बोलाउने, सन्चारकर्मीका अगाडि ज्यानजीले सरकारलाई दबाब दिए ल के गरौँ ? भनेर सरकार एकदमै दबाबमा परेको छ र भनेर देखाउने काम भइरहेको छ। जेन जेडहरूका नाममा यो कलाविहीन नाटक चलाइएको छ। मलाई थाहा छ त्यो जेन जेडको नाममा मस्यौदा कसले लेखेको हो, कहाँ बोलाएर पढाइयो, त्यसको अर्गनाइजर को हो सबै थाहा छ। बिना पैसा अहिले यी तमासा हेर्न पाइएको छ।

    ओलीले प्रतिनिधिसभा अविलम्ब पुनर्स्थापना हुनुपर्ने भन्दै असंवैधानिक ढंगले अनधिकृत व्यक्तिको सिफारिसमा विघटन भएको बताए। अहिले पनि जेन जेड भनेर १०र२० जना युवा जम्मा पारेर धम्क्याउने र अनेक क्षति पुर्‍याउने भन्दै भन्न लगाइएको ओलीले बताए।

    उनले भने, उनीहरूमा आवेश र उत्तेजना मात्र छ। गतिलो र सकारात्मक उद्देश्य र विचार छैन र गन्तव्य छैन। सरकार यस्तै काममा लागेको चुनावतिर लागेकै छैन। ड्रामातिर लागेको छ।

    अवकाशलगत्तै निवर्तमान आइजिपी चन्द्रकुबेर खापुङलाई स्थान हद तोकिएको विषयमा पनि ओलीले आपत्ति जनाए। पूर्व प्रधानमन्त्री ओलीले अहिलेको आइजिपीलाई तर्साउन निवर्तमान आइजिपी चन्द्रकुबेर खापुङको पासपोर्ट रोक्का र स्थान हदको प्रचार गरिएको आरोप लगाए।

    उनले भने, ‘हिजोसम्म शान्ति सुरक्षा कायम गराउन प्रहरी प्रमुखको जिम्मेवारी लिएको छ। आज कतै पनि जान नपाउनु योभन्दा ठुलो मजाक र तमासा के हुन्छ ? सरकार के बाटो हिँड्न र कहाँ जान खोजेको ? रुल अफ ल कार्यान्वयन हुन नदिने, कानूनबमोजिम नगर्ने निर्दोषलाई थुन्नुपर्छ भन्ने ? दोषीलाई छाड्नुपर्छ भन्ने ?’

    उनले आफू सत्य कुरा गर्ने र जीवनभर लडिरहने भन्दै कसैले यसलाई दम्भ भन्छ भने यो घट्नेवाला छैन, देश बनाउने उद्देश्यमा कमी आउने छैन भनी जवाफ दिए।