काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले २२ वटा उद्योगबाट डेडिकेटेड तथा ट्रंकलाइन महसुल उठाएको छ। प्राधिकरणले ती उद्योगबाट २३ करोड ८७ लाख ७२ हजार रुपैयाँ असुल गरेको हो।
यो रकम असोज १२ गतेभन्दा अघि तिरेको पनि हो। असोज १२ भन्दा अघि उद्योगीहरूले २ करोड ४१ लाख ६८ हजार रुपैयाँ बक्यौता तिरेका थिए। त्यसपछि किस्ता निरन्तरता भुक्तानी बापत उद्योगीहरूले १८ करोड २० लाख ७ हजार रुपैयाँ भुक्तानी गरेका हुन्।
प्राधिकरणका अनुसार यी ५ अर्ब ९४ करोड ५६ लाख रुपैयाँ डेडिकेटेड तथा ट्रंकलाइन महसुल थियो। उक्त महसुल उद्योगीहरूले तिर्न नमानेपछि प्राधिकरणले यही कात्तिक ४ गते लाइन काटिदिएको थियो। त्यसपछि २२ उद्योगीहरूले किस्ताबन्दीमा बक्यौता बुझाएपछि उद्योगमा लाइन जोडिएको छ।
डेडिकेटेड तथा ट्रकलाइनको महसुलबापत जगदम्बा स्टिलले ५ करोड ७२ लाख रुपैयाँ बक्यौता बुझाएको छ। यस उद्योगले एक अर्ब ६० करोड १८ लाख बक्यौता रहेको छ। नयाँ किस्ता तिरेपछि यस उद्योगको अझै १ अर्ब ५४ करोड रुपैयाँ बाँकी छ।
त्यस्तै, रिलायन्स स्पिनिङ मिल्सको कुल बक्यौता ७५ करोड ३६ लाख ८४ हजार रहेकोमा यस उद्योगले २ करोड ७५ लाख भुक्तानी गरेको छ। यो भुक्तानीपछि अब उद्योगको ७२ करोड ६१ लाख रुपैयाँ तिर्न बाँकी देखिन्छ। अन्य ठूला बक्यौता भएका उद्योगहरूमध्ये अर्घाखाँची सिमेन्टले ४४ करोड ८४ लाख बक्यौता रहेकोमा एक करोड ६० लाख रुपैयाँ तिरेको छ। यस उद्योगको अझै ४३ करोड २४ लाख रुपैयाँ बक्यौता बाँकी छ।
त्यस्तै, विशाल सिमेन्टले ११ लाख ९७ हजार बक्यौता बुझाएको छ भने घोराही सिमेन्टले एक करोड ८१ लाख रुपैयाँ तिरेको छ। शिवम् सिमेन्टले पनि २ करोड ३८ लाख रुपैयाँ बक्यौता बुझाएको प्राधिकरणले जनाएको छ।