‘केपी ओली नै अबको अध्यक्ष हो’ : खगराज अधिकारी - Chaitanya News
  • 2026-05-09
  • 20:13:17
  • शनिबार,बैशाख २६, २०८३
  • ‘केपी ओली नै अबको अध्यक्ष हो’ : खगराज अधिकारी

    ‘केपी ओली नै अबको अध्यक्ष हो’ : खगराज अधिकारी

    काठमाडौँ– नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारीले केपी ओली नै आगामी पार्टी अध्यक्ष हुने दाबी गरेका छन्।

    आज (बिहीवार) प्रेस चौतारी नेपाल कैलाली जिल्ला समितिले कैलालीको धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले विधान महाधिवेशनको भावलाई समेट्दै ओली नै अध्यक्ष बन्ने दाबी गरेका हुन्।

    सर्वसम्मतको अन्तिम प्रयत्न जारी रहने नभए स्वच्छ प्रतिस्पर्धाबाट भए पनि नेतृत्व चयन हुने उनको दाबी थियो। ‘आगामी महाधिवेशनबाट वर्तमान नेतृत्वलाई सर्वसम्मत अध्यक्ष बनाउने हो, सर्वसम्मतको अन्तिम प्रयास रहन्छ भएन भने स्वच्छ प्रतिस्पर्धामा हुन्छ’ उनले भने।

    उने नेताहरूको सम्पत्ति छानबिन हुने विषयलाई पनि स्वीकार गरेका थिए।

    ‘सम्पत्ति छानबिन हुनुपर्छ। हामीबाटै छानबिन सुरु गर्दा हुन्छ ’ उनले भनेका थिए, ‘अहिले गरे पनि हुन्छ उच्चस्तरीय सम्पत्ति छानबिन समिति गठन गर्दा पनि हुन्छ। ’

    जेन जेडको नाममा भएको तोडफोड हिंसाको निष्पक्ष छानबिन हुनुपर्ने उनको माग थियो। मुलुक अहिले असंवैधानिक ढंगले अघि बढिरहेको उनले आरोप लगाए। अहिलेको अवस्थामा निर्वाचन सम्भव नभएको भन्दै उनले वर्तमान सरकारले निर्वाचन गराउन नसक्ने जोड दिएका थिए।

    ‘यो सरकारले चुनाव गराउँदैन। चुनाव गराउन आएको पनि होइन। युवाहरूको मागलाई हाई ज्याक गरेर मूलकलाई भुटानीकरण वा सिक्किमीकरण गर्न आएको हो ’ अधिकारीको आरोप थियो।

    देशलाई निकास दिनु एमालेको दाइत्व रहेको उल्लेख गर्दै उनले अहिलेको अवश्यक्ता संसद् पुनर्स्थापना रहेको बताए। संसद्को पुनर्स्थापना मार्फत संविधान संशोधन गरेर समस्याको समाधान गर्न सकिने उनले बताए। अहिलेकै अवस्थामा निर्वाचन सम्भव नभएको उनको दाबी थियो।

    ‘प्रहरीको उच्च अधिकारीको पोसाक जेलबाट भागेका अपराधीहरूसँग छ। हतियार पनि उनीहरूसँग छ। निर्वाचनको दिन उनीहरू ती पोसाक र हतियारसहित आए भने पुलिस हुन् कि अपराधी कसरी थाहा हुन्छ ’ उनले भने, ‘पहिले सरकारले सुरक्षा प्रत्याभूति दिलाउनुपर्छ अहिले दिलाउन सकिरहेको छैन।’

    अहिले एमालेले सुरु गरेको वडा, पालिका तथा जिल्लास्तरको प्रदर्शनले मुलुकभर एमालेको जनलहर रहेको प्रस्ट भएको उनले बताए। एमाले राष्ट्रवादी शक्ति भएको भन्दै देशी विदेशी शक्ति अहिले एमालेविरुद्ध खनिएको उनले बताए। नेकपामा भीम रावलको प्रवेशलाई उनले कटाक्ष गरेका थिए।

    ‘भीम रावलबाट हिजो पनि सहयोग भएको थिएन । बहिर्गमन भएकोमा हर्षबढाइँ भएको छैन तर, ताक परेको बेलामा ज्ञानेन्द्र शाहीसँग हात मिलाउने नत्र प्रचण्ड ठिक भन्ने कुरा ठिक होइन,’ उनले भने।