काठमाडौँ– तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कालको सचिवालयमा रहेका नौ शीर्ष नेतामध्ये बहुमत सदस्य अर्थात पाँच जना नेता हालै बनेको ‘नेपाली कम्युनिस्ट पार्टी’मा आबद्ध हुन पुगेका छन्।
२०७५ जेठ ३ गते भएको एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपामा शीर्ष नौ जना नेता रहेको सचिवालय गठन गरिएको थियो। नेकपा कालमा महत्त्वपूर्ण निर्णयहरू त्यही ९ जनाको सचिवालयले नै गर्दै आएको थियो।
जसमा एमालेबाट अध्यक्ष केपी शर्मा ओली, नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, ईश्वर पोखरेल र विष्णु पौडेल रहेका थिए भने माओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेताहरू नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा बादल रहेका थिए। त्यसबेलाको नेकपामा आएको विवादसँगै सर्वोच्च अदालतले नेकपाको वैधानिकतामाथि प्रश्न उठाएर एकतालाई मान्यता नदिएपछि पुन एमाले र माओवादीकै हैसियतमा दुवै पार्टी चलेका थिए।
पछि एमाले विभाजन भएर नेता माधवकुमार नेपालले नेकपा एकीकृत समाजवादी गठन गर्दा नेपालसँगै अर्का नेता खनाल पनि नेपालसँगै लागेका थिए। नेकपा विभाजन भएर अलग तीन पार्टी बन्दा त्यसबेलाको सचिवालयमा रहेका नेताहरू पनि बाँडिएका थिए।
पार्टी विभाजन भएसँगै नेताहरू अलगअलग कित्तामा पुगिएका थिए। वामदेव गौतमले नेकपा एकता अभियान नामको पार्टी नै गठन गरेका थिए भने नेपाल र खनाल एकीकृत समाजवादीतिर लागेका थिए। उता ओली, ईश्वर र विष्णु एमालेमै रहे। माओवादीका प्रचण्ड र नारायणकाजी माओवादीतिर लाग्दा पूर्व माओवादी नेता रामबहादुर थापा भने एमालेतिर लागेका थिए।
कात्तिक १९ गते एमालेबाट विभाजित नेकपा एकीकृत समाजवादी र माओवादीसहितका अन्य पार्टीहरू एकीकृत भएसँगै तत्कालीन नेकपाको ९ सदस्यीय सचिवालयको बहुमत सदस्य नवगठित नेपाली कम्युनिस्ट पार्टीमा आइपुगेका छन्। गौतम नेपाली कम्युनिस्ट पार्टी बन्नुअघि नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका थिए।
गत बुधवार काठमाडौँमा आयोजित पार्टी एकता घोषणा कार्यक्रममा बोल्दै नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक नेपालले भने, ‘एमाले र माओवादीबिच एकीकरण गरेर नेकपा हामीले गठन गरेका थियौँ। त्यतिखेरका सबै प्रमुख नेता यही उपस्थित हुनुहुन्छ।’