काठमाडौँ– सरकारले एमसीए–नेपालले निर्माण गर्ने ४०० केभी विद्युत् प्रसारण लाइनका लागि विभिन्न जिल्लामा पर्ने प्रसारण लाइनको दायाँबायाँका जग्गामा संरचना निर्माण गर्न र रुख रोप्न निषेध गरेको छ।
हिजो (सोमबार) बसेको मन्त्रिपरिषद् बैठकका निर्णय आज (मंगलबार) सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले सो जानकारी दिएका हुन्।
एमसीए–नेपालले निर्माण गर्ने ४०० केभी विद्युत् प्रसारण लाइनका लागि नवलपरासी, पाल्पा, तनहुँ, चितवन, धादिङ, सिन्धुपाल्चोक, काठमाडौँ, नुवाकोट र मकवानपुर जिल्लामा पर्ने विद्युत् प्रसारण लाइनको मध्य रेखाबाट २३–२३ मिटर दायाँ र बायाँमा पर्ने करिब १३८१ हेक्टर क्षेत्रफलका जग्गामा कुनै प्रकारको संरचना निर्माण गर्न तथा रुख रोप्न नपाउने गरी निषेध गर्ने निर्णय भएको उनले जानकारी दिए।
मन्त्रिपरिषद् बैठकले ऊर्जा मन्त्रालय र मन्त्रालय अन्तर्गतका निकायको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति प्रदान गर्ने निर्णय पनि गरेको छ।