काठमाडौं– भारतको बिहार राज्यमा आज विधानसभा निर्वाचनअन्तर्गत पहिलो चरणको मतदान हुँदैछ। पहिलो चरणमा १८ जिल्लाका १२१ विधानसभा सिटका लागि मतदान हुन गइरहेको हो।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार बिहारको राजधानी पटना पनि पहिलो चरणमा मतदान हुने क्षेत्रमा पर्दछ। पहिलो चरणमा बिहारका उपमुख्यमन्त्री सम्राट चौधरी, उपमुख्यमन्त्री विजय सिन्हा र राष्ट्रिय जनता दल (आरजेडी)का नेता तेजस्वी यादवलगायतका ‘हेभिवेट’ हरू प्रतिष्पर्धामा छन्।
बिहारका बाँकी २० जिल्लाका १२२ विधानसभा क्षेत्रमा दोस्रो चरण –११ नोभेम्बार) मा मतदान हुने छ। निर्वाचन आयोगले १४ नोभेम्बरमा चुनावको नतिजा घोषणा गर्ने योजना बनाएको छ।
नेपालसँग सीमा जोडिएको भारतीय राज्य बिहारमा विधान सभा निर्वाचन अन्तिम चरणमा पुगेको छ। दुई सय ४३ सिटका लागि हुन गइरहेको निर्वाचन दुई चरणमा सम्पन्न हुने छ।
६ नोभेम्बर (२० कात्तिक) र ११ नोभेम्बर (२५ कात्तिक) मा गरी दुई चरणमा मतदान हुने निर्वाचन कार्यतालिका रहेको छ। भारतीय सञ्चारमाध्यमहरूले १४ नोभेम्बर (२८ कात्तिक) मा चुनावी परिणाम सार्वजनिक भइसक्ने जनाएका छन्।
बिहारमा मुख्य रूपले राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) र महागठबन्धनबीच प्रतिष्पर्धा हुने छ। यसपल्ट विधान सभा निर्वाचनमा प्रशान्त किशोरको पार्टी जन सुराजको उपस्थिति चर्चामा छ।
एनडीएमा भारतीय जनता पार्टी (भाजपा), जनता दल (युनाइटेड), लोक जनशक्ति पार्टी (रामविलास), हिन्दुस्तानी अवाम मोर्चा र राष्ट्रिय लोक मोर्चाआवद्ध छन्।
राष्ट्रिय जनता दल (राजद), भारतीय राष्ट्रिय कांग्रेस, विकासशील इन्सान पार्टी, कम्युनिस्ट पार्टी अफ इन्डिया (मार्क्सवादी–लेनिनवादी), कम्युनिस्ट पार्टी अफ इन्डिया र कम्युनिस्ट पार्टी अफ इण्डिया (मार्क्सवादी)महागठबन्धनमा छन्।
एनडीए गठबन्धन वर्तमान सत्तारुढ गठबन्धन हो। यसको नेतृत्व मुख्य रूपमा भाजपा र जनता दल (युनाइटेड)ले गरिरहेका छन्। महागठबन्धन विपक्षी गठबन्धन हो। यसको नेतृत्व राष्ट्रिय जनता दलले गर्दैछ। महागठबन्धनले तेजस्वी यादवलाई मुख्यमन्त्री पदको उम्मेदवार घोषणा गरेको छ।
बिहार विधान सभा निर्वाचनका लागि कुल पञ्जीकृत मतदाताको संख्या सात करोड, ४३ लाख ५५ हजार ९७६ रहेको छ। जसमध्ये झण्डै तीन करोड ९२ लाख ७० हजार ८०४ पुरूष र करिब तीन करोड ४९ लाख ८२ हजार ८२८ महिला मतदाता रहेका निर्वाचन आयोगले जनाएको छ।
विहारमा ८५ वर्षभन्दा माथिका चार लाख तीन हजार ९८५ ले कमितमा पनि दोहोर्याएर र १४ लाख एक हजार ५० जना १८ देखि १९ वर्षका मतदाताले पहिलोपल्ट मतदान गर्न लागेका छन्।
दुई चरणमा सम्पन्न हुने मतदानमा सात लाख २० हजार ७०९ दिव्याङ्ग (अपाङ्गता भएका) र १७ सय बढी तेस्रो लिङ्गी मतदाताहरू निर्वाचनमा सहभागी हुने बताइएको छ। बिहारमा मतदाता नामावलीमा समावेश नभएका नागरिकको संख्या ६५ लाख ६४ हजार ७५ रहेको नवभारत टाइम्सले जनाएको छ।
बिहार विधान सभा निर्वाचनमा मुख्य मुद्दाका रूपमा रोजगार, बिहारबाट हुने पलायन, अपराध, भ्रष्टाचार, शिक्षा, स्वास्थ्य, बिजुली–सडक–पानी, महिला आरक्षण, लोकप्रिय कल्याणकारी योजनाहरू रहेका छन्।