काठमाडौं– जेनजी प्रदर्शनमा काठमाडौं उपत्यका र उपत्यका बाहिर रहेका प्रहरी कार्यालयहरुबाट हजारौंको संख्यामा गोली लुटपाट भएको प्रहरीको आन्तरिक छानबिन समितिले देखाएको छ ।
भदौ २३ र २४ मा भएको जेनजी प्रदर्शनका क्रममा हराएका र लुटिएका कारण ९८ हजार भन्दा धेरै धातुको गोली (जङ्ग्री राउण्ड)रेकर्डमा नभेटिएको डीआईजी नेतृत्वको आन्तरिक छानबिन समितिले रिपोर्ट बुझाएको छ।
प्रहरी प्रधान कार्यालयको अन्वेषण योजना तथा विकास निर्देशनालयका डीआईजी दीपक रेग्मी नेतृत्वको समितिले आन्तरिक प्रतिवेदन आईजीपी चन्द्रकुवेर खापुङलाई बुझाएको छ। काठमाडौं उपत्यकाबाट मात्रै करिब ६ सय राउण्ड गोली हराएको आन्तरिक प्रतिवेदनमा उल्लेख छ।
आन्दोलनकारीले डमी राउण्ड पनि लुटेर लगेको छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ। आन्दोलनकारीलाई भगाउन प्रयोग गरिने ‘डमी राउण्ड’ करिब २ हजार २ सय रेकर्डमा नभेटिएको हो।
त्यस्तै, जेनजी आन्दोलनपछि फायर गरिएको बाहेक १३ सय रबर बुलेट हराएको विवरण संकलन गरिएको छ। लुटपाट र मिसिङ हुँदा अश्रुग्याँस सेल २ हजार ८ सय वटा रेकर्डमा फेला परेको छैन। म्याग्जिन (गोली राख्ने भाँडो) १७ सय थान हराएको छ।
जेनजी प्रदर्शनमा प्रहरीले ६५ सय राउण्डभन्दा धेरै गोली प्रहार गरेको भेटिएको छ। प्रहरीको आन्तरिक रिपोर्ट अनुसार जङ्गी राउण्ड ४ हजार र २५ सय राउण्ड भन्दा धेरै रबर बुलेट प्रहार गरेको भेटिएको हो।
एकजना उच्च प्रहरी अधिकृतका अनुसार बानेश्वरसहित देशभर २५ सय राउण्ड भन्दा धेरै रबर बुलेट प्रहार गरेको भेटिएको छ। प्रदर्शनकारी भगाउन २५ सय भन्दा धेरै ब्ल्याङ्क राउन्ड फायर गरेको भेटिएको छ। ब्ल्याङ्क राउन्ड प्रहार गर्दा आवाज मात्र आउँछ।
प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले ८ हजार सेल अश्रुग्याँस प्रहार गरेको छ काठमाडौं उपत्यकामा मात्र ४ हजार सेल अश्रुग्याँस प्रहार गरिएको प्रहरीको अन्तरिक प्रतिवेदनमा उल्लेख छ।
३५ सय गोली बरामद:
जेनजी प्रदर्शनपछि स्थिति सामान्य भएसँगै प्रहरीले हराएका र लुटपाट भएका करिब ३५ सय राउण्ड गोली बरामद गरेको छ काठमाडौं उपत्यका र प्रदेशका युनिटहरुबाट प्रदर्शनकारीले लुटेर लगेको करिब ३५ सय राउण्ड गोली फेला परेको प्रहरी प्रधान कार्यालयका एकजना उच्च अधिकृतले रातोपाटीलाई बताए।
प्रदर्शन स्थलमा हराएको र युनिटहरुबाट लुटिएको करिब २ सय अश्रुग्याँस सेल पनि प्रहरीले बरामद गरेको छ। प्रदर्शनमा करिब १२ सय थान हतियार हराएको आन्तरिक प्रतिवेदनमा उल्लेख छ। हराएको ७ सय ४७ थान हतियार भेटिएको प्रहरीका एक उच्च अधिकृतले रातोपाटीलाई बताए। ती प्रहरी अधिकृतका अनुसार प्रहरीको ४५३ थान हतियार अझै बाहिर छ।