काठमाडौँ– आज (बुधबार) बिहान प्रचण्ड निवासमा नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी सहित ९ दलबिच एकता घोषणाअघि प्रचण्डले पूर्वप्रधानमन्त्री झलनाथ खनाल र एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालसँग छलफल गरेका छन्।
करिब एक घण्टा भएको छलफलमा एउटै पार्टीमा सहयात्रा गरेर जानेबारे प्रस्ताव गरेका थिए। जवाफमा राजनीतिक कार्यदिशामा प्रचण्ड स्पष्ट भए सँगै सहकार्य गर्न सकिने जवाफ दिएको खनालले बताए।
‘छलफलका लागि प्रचण्डजीले बोलाउनुभएको थियो। उहाँले एउटै पार्टीमा सहकार्य गरौँ भन्नुभयो मैले राजनीतिक कार्यदिशा ठिक भयो भने ठिक छ सहकार्य गर्न सकिन्छ भने। मार्क्सवाद र लेनिनवाद हाम्रो सैद्धान्तिक कार्यदिशा हो द्वन्द्वात्मक भौतिकवाद हाम्रो वैचारिक कार्यदिशा हो । राजनीतिक कार्यदिशा के हो ? त्यो स्पष्ट छैन। कसका विरुद्ध लडेर समाजवादमा पुगिने हो ः साम्राज्यवादीसँग लड्ने हो कि रु दलाल पुँजीवादसँग लड्ने हो कि , त्यो स्पष्ट गरौँ। यति भएमा सहकार्य गर्न सकिन्छ मैले भने। एकछिनमा खबर गर्छु भन्नुभएको छ’, उनले भने ।
छलफलमा महासचिव भुसालले नेतृत्व हस्तान्तरण र पार्टी पुनर्गठनका मार्गचित्र स्पष्ट पारे सहकार्य गर्न सकिने पुरानै अडान राखेको खनालले जानकारी दिए।
माओवादी केन्द्र र एकीकृत समाजवादीलगायतका ९ दलहरूबिच केही समयपछि एकता घोषणा हुँदै छ । त्यसअघि प्रचण्डले खनाल, भुसाल र एमालेका पूर्व उपाध्यक्ष भीम रावललगातसँग छलफल गरेका हुन्।