काठमाडौँ– नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहितका ९ वटा दल र समूहबीच आज एकता घोषणा हुँदैछ। एकतामा सहभागी दलहरूले आज दिउँसो १ बजे भृकुटीमण्डपमा सभा गरेर एकता घोषणा गर्न तय भएको छ।
माओवादी केन्द्र, एकीकृत समाजवादी, जन समाजवादी पार्टी, नेपाल समाजवादी पार्टी, विप्लवबाट छुट्टिएको नेकपा, नेकपा समाजवादी, नेकपा माओवादी समाजवादी र नेकपा साम्यवादीबीच एकता हुन लागेको हो। गोपाल किराँती भने माओवादीसँगै मिसिएर एकतामा सहभागी भएका छन्।
एकतापछि पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी राख्ने सहमति भएको छ। चुनाव चिह्न तारा प्रस्ताव गरिएको छ। माओवादीबाट जनार्दन शर्मा र राम कार्की लगायतका नेताहरू बाहिरिएका छन् भने एकीकृत समाजवादीबाट पूर्व प्रधानमन्त्री झलनाथ खनाल, घनश्याम भूसाल, रामकुमारी झाँक्रीलगायतका नेताहरू बाहिरिएका छन्।