विप्लव समूहलाई जारी गरेको पक्राउ पुर्जी फिर्ता हुनुपर्छ : एमाले - Chaitanya News
  • 2026-04-19
  • 04:19:15
  • शनिबार,बैशाख ०५, २०८३
  • विप्लव समूहलाई जारी गरेको पक्राउ पुर्जी फिर्ता हुनुपर्छ : एमाले

    विप्लव समूहलाई जारी गरेको पक्राउ पुर्जी फिर्ता हुनुपर्छ : एमाले

    काठमाडौं- प्रतिनिधिसभा बैठमा बोल्दै एमाले सांसद विशाल भट्टराईले नेपाल कम्युनिस्ट पार्टीको विप्लव समूहलाई जारी गरेको पक्राउ पुर्जी फिर्ता लिन माग गरेका छन्।

    मंगलबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद भट्टराईले विप्लव समूहलाई जारी गरेको पक्राउ पुर्जी तत्काल फिर्ता लिन सरकारसँग माग गरेका हुन् । विप्लव समूहले शान्तिपूर्ण तरिकाले नेपालको राजनीतिक बाटो रोजिसकेको भन्दै उनले कारबाही गर्नुको सट्टा प्रोत्साहन गर्नुपर्ने बताए।

    ‘नेपाल कम्युनिस्ट पार्टीको विप्लव समूहको भनेर चिनिने एउटा समूहलाई फेरि थप कारबाहीका लागि पत्र पठाएको हामीले सुनेका छौं। संचारमाध्यमबाट आएको यो समाचार सत्य हो भने सरकार यो कामबाट तत्काल पछि हट्न, उहाँहरुलाई काटेको पत्र फिर्ता लिन र उहाँहरुले जुन शान्तिपूर्ण तरिकाले राजनीतिक गर्न बाटो रोजिसक्नु भएको छ। यसलाई प्रोत्साहन गर्न नेपाल सरकारलाई ध्यानाकर्षण गराउन चाहन्छु,’ उनले भने।

    सांसद भट्टराईले कुनै बेला हिंसाको बाटो रोजी हतियार बोकेर सशस्त्र युद्धमा होमिएको सो समूहलाई तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले ३ बुँदै सहमति गरेर हिंसाको बाटो परित्याग गराएर शान्तिपूर्णको बाटोमा ल्याएको बताए।

    उनले ओली सरकारले गरेका कामलाई निरन्तर अगाडि बढाउनुको सट्टा गठबन्धन सरकारले विभिन्न बहानामा विप्लव समूहलाई पत्र काट्ने र फेरि हिंसाको बाटो रोज्न बाध्य बनाएको भन्दै आपत्ती जनाए।